काठमाडौं । नेपाल सरकारको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२, पाक्नाजोल स्थायी घर भई हाल ललितपुर महानगरपालिका-३, झम्सिखेल बस्ने ५५ वर्षीय पलिना श्रेष्ठ र पनौती नगरपालिका-१२ स्थायी घर भई हाल टोखा नगरपालिका-७, धापासी बस्ने ६२ वर्षीय नरेन्द्र उलाक रहेका छन्।
पलिना श्रेष्ठलाई काठमाडौंको जमलबाट र नरेन्द्र उलाकलाई ललितपुरको बखुण्डोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुले सरकारी स्वामित्वमा आएको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्दै आएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणले मिति २०७० बैसाख २ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएर सञ्चालन गरेको स्मार्ट टेलिकम प्रा. लि.ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको थियो । पछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० बैसाख ३ देखि उक्त अनुमति स्वतः रद्द भएको जनाएको थियो।
अनुमति बहाल नरहेको सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाललाई नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
यस क्रममा नेपाल सरकारको सम्पत्तिमा हानि पुर्याउने उद्देश्यले गैरकानुनी रूपमा लिलामी प्रक्रिया अघि बढाएको आरोपमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा थप २ जना अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएपछि प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ।