काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा आयोजित ‘स्व.पि.एल.सिंह स्मृति छैटौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३’ सम्पन्न भएको छ। प्रतियोगिता वैशाख २४ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन गरिएको थियो।
समापन समारोह जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको प्रतियोगितामा बागमती प्रदेशका २० नगरपालिकाबाट गेरोगी, पुम्से तथा पारा विधामा गरी ३२२ खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम हुने टोलीलाई एग्रो थाइ फुड्स प्रा.लि.को तर्फबाट १ केजी तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको थियो।
प्रतियोगितामा आयोजक काठमाडौं महानगरपालिका टिम-एले १४ स्वर्ण र ४ रजत पदक जित्दै समग्र च्याम्पियन बन्दै चाँदीको रनिङ शिल्ड कब्जा गर्यो। महालक्ष्मी नगरपालिका २ स्वर्ण, ४ रजत र ४ कांस्य पदकसहित दोस्रो स्थानमा रहँदा चन्द्रागिरी नगरपालिका १ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो।
व्यक्तिगत विधातर्फ पुरुष पुम्सेमा कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र महिला पुम्सेमा काठमाडौं महानगरपालिकाकी वितिशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी पुरुष गेरोगीतर्फ काठमाडौं महानगरपालिकाका गयाल्जेङ तामाङ तथा महिला गेरोगीतर्फ तारकेश्वर नगरपालिकाकी कृतिका थापा मगर उत्कृष्ट खेलाडी घोषित भए।
यसैगरी काठमाडौं महानगरपालिका टिमका प्रशिक्षक अन्जित राई उत्कृष्ट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक गौरव रजक उत्कृष्ट निर्णायक घोषित भए। उत्कृष्ट घोषित सबै ६ जनालाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।