तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिताः एभीएस टिम च्याम्पियन, ११ स्वर्णसहित उपाधि कब्जा

दियोपोस्ट संवाददाता  

काठमाडौं । एभीएसले तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा एभीएसले सर्वाधिक ११ स्वर्ण पदक जित्दै उपाधि आफ्नो नाममा लेखायो । पाको-नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्ण पदकसहित ब्रिज वाटर इन्टरनेसनल स्कुल दोस्रो स्थानमा रह्यो भने ६ स्वर्ण जित्दै घर सित मुटुले तेस्रो स्थान हासिल गर्‍यो ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेसनल स्कुलमा सम्पन्न प्रतियोगिताको पुरुषतर्फ नुवाकोटका प्रशंम कुम्वर तथा महिलातर्फ काठमाडौंकी रिमाकुमारी चौधरी उत्कृष्ट खेलाडी घोषित भए । विजेता खेलाडी तथा टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)कार्यकारी समितिकी पूर्व सदस्य एवं नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष विष्णु थापा तथा ब्रान्च चिफ सन्जु महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए ।

एकदिने प्रतियोगिताको उद्घाटन राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोख्रेलले गरेका थिए । आयोजकका अनुसार प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहेको थियो । पुरुषतर्फ १९ तथा महिलातर्फ १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

सिफारिस