नक्कली ‘भ्याट बिल’ र ‘भन्सार छली’ प्रकरणमा व्यवसायी विष्णु अग्रवालबिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

दियोपोस्ट संवाददाता  

काठमाडौं । मोरङ अटो वर्क्ससँग सम्बन्धित व्यवसायी विष्णु कुमार अग्रवालमाथि नक्कली भ्याट बिल प्रयोग गरी कर तथा भन्सार छली गरेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन र कारबाहीको मागसहित निवेदन दर्ता गरिएको छ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पेश गरिएको निवेदनमा त्रिपुरेश्वरस्थित मोरङ अटो वर्क्सका सञ्चालक अग्रवालले लामो समयदेखि विभिन्न कम्पनीमार्फत कर छली गर्दै आएको आरोप लगाइएको छ। निवेदनमा उनी २०६७ सालको नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणमा समेत मुछिएको उल्लेख गरिएको छ।

निवेदनअनुसार अग्रवालको मुख्य कम्पनी मोरङ अटो वर्क्स नक्कली भ्याट बिल प्रकरणपछि बन्द गरिएको भए पनि सोही नामसँग मिल्दोजुल्दो अन्य कम्पनी स्थापना गरी कारोबार सञ्चालन भइरहेको दाबी गरिएको छ। मोरङ, अटो र वर्क्स शब्दका अक्षरहरू संयोजन गरी “एमएडब्लु” नाममा विभिन्न कम्पनी स्थापना गरेर कारोबार हुँदै आएको उनीमाथि आरोप छ।

त्यस्तै, आर्थिक वर्ष २०८०र०८१ मा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल्स प्रा.लि.ले आयात गरेको फोटोन इभी गाडीमा भन्सार छली भएको आरोप पनि लगाइएको छ। भन्सार विभागले च.नं. ५६४र०८१र०८२ मार्फत करिब ६ करोड रुपैयाँ बराबरको भन्सार बक्यौता तत्काल दाखिला गर्न पत्राचार गरेको भए पनि हालसम्म रकम नतिरेको निवेदनमा उल्लेख गरिएको छ।

निवेदकले अग्रवालले आफ्नै कम्पनीहरूबीच कृत्रिम कारोबार देखाई कर छली गरेको दाबी गर्दै २०६७ सालदेखि हालसम्मका सबै कम्पनीहरूको भ्याट विवरण, पुष्टी नभएका खर्च तथा आयकर सम्बन्धी कारोबारमाथि विस्तृत अनुसन्धान गर्न माग गरेका छन्।

निवेदनमा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष आग्रह गरिएको छ

सिफारिस