मानव सभ्यताको इतिहासमा एउटा यस्तो धातु छ, जसका लागि साम्राज्यहरू बने र ढले, युद्धहरू भए र मानिसले पृथ्वीको छाती चिरेर पातालसम्म खने। त्यो हो- सुन।
तर, के तपाईँलाई थाहा छ? तपाईँको औँलामा रहेको सुनको औँठी वास्तवमा यो पृथ्वीको उपज नै होइन। यो त एउटा ब्रह्माण्डकै दुर्लभ घटनाको उपहार हो।
वैज्ञानिक तथ्य अनुसार, सुन पृथ्वीमा बनेको होइन।
हाम्रो सूर्य एउटा विशाल तारा हो, तर यसले पनि सुन बनाउन सक्दैन। सुन बनाउनका लागि ब्रह्माण्डमा यति धेरै तापक्रम र चाप चाहिन्छ, जुन केवल दुईवटा ‘न्यूट्रोन स्टार‘ (मरेका ताराहरूको अति सघन केन्द्र) एक-आपसमा ठोक्किँदा मात्र उत्पन्न हुन्छ। अर्बौँ वर्ष पहिले जब यस्ता दुई ताराहरू प्रकाशको गतिमा एक-आपसमा ठोक्किए, त्यहाँबाट निस्किएको परमाणुहरूको भेलले सुनको सिर्जना गर्यो। यो विष्फोटबाट निस्किएको धुलो र खरानी अन्तरिक्षमा फैलियो।
४.५ अर्ब वर्ष पहिले जब पृथ्वी बन्दै थियो, अन्तरिक्षमा तैरिरहेका यी सुनका कणहरू पृथ्वीको निर्माण प्रक्रियामा समाहित भए। त्यसैले, तपाईँले लगाउने सुन वास्तवमा ‘ताराको खरानी’ हो, जसलाई ‘कस्मिक खरानी’ पनि भनिन्छ।

एउटा रोचक तथ्य के छ भने, पृथ्वीमा अहिलेसम्म निकालिएको सबै सुन पगाल्ने हो भने त्यसले जम्मा तीनवटा ठूला ओलम्पिक स्विमिङ पुल मात्र भर्न सक्छ। यो यति थोरै छ कि यसलाई फेरि बनाउन वा ल्याबमा तयार पार्न असम्भव प्राय: छ।
‘नेचर जियोसाइन्स’मा प्रकाशित एक अध्ययनले एउटा ठूलो रहस्य सुल्झाएको छ। वैज्ञानिकहरूका अनुसार, सुनका ठूला डल्लाहरू (Nuggets) बन्नुमा भूकम्पको मुख्य हात हुन्छ।
पृथ्वीको सतहमा आइपुगेको सुन सबै एकै ठाउँमा थुप्रिएको हुँदैन। यसलाई डल्ला (Nuggets) बनाउन पृथ्वीले एउटा विशेष ‘इन्जिनियरिङ’ प्रयोग गर्छ र त्यो हो- भूकम्प। सुन प्राय: क्वार्ट्ज भनिने कडा र सेतो चट्टानको नसाहरूमा पाइन्छ। क्वार्ट्जमा एउटा अनौठो गुण हुन्छ: पिजोइलेक्ट्रिसिटी। यसको अर्थ हुन्छ; जब क्वार्ट्जलाई थिचिन्छ वा हल्लाइन्छ, यसले बिजुली उत्पन्न गर्छ।

जब जमिनमुनि भूकम्प जान्छ, चट्टानहरू जोडले हल्लिन्छन् र क्वार्ट्जले तत्कालै उच्च भोल्टेजको बिजुली निकाल्छ। जमिनको गहिराइमा तातो पानी र ग्यासहरूसँग सुन पग्लिएको अवस्थामा हुन्छ। भूकम्पले पैदा गरेको त्यो बिजुलीले ती पग्लिएका सुनका कणहरूलाई चुम्बकले जस्तै तानेर एउटै ठाउँमा ‘वेल्डिङ’ गरिदिन्छ। हजारौँ पटकका यस्ता झट्काहरूले अन्ततः एउटा सुनको डल्ला तयार हुन्छ।
सुनको यो दुर्लभताले नै मानिसलाई पृथ्वीको छाती चिर्न बाध्य बनायो। दक्षिण अफ्रिकाको एम्पोनेङ (Mponeng) सुन खानी पृथ्वीको सतहबाट ४ किलोमिटरभन्दा बढी गहिरो छ। त्यहाँको तापक्रम ६० डिग्री सेल्सियसभन्दा बढी हुन्छ। मानिसले एक सानो टुक्रा सुनका लागि यस्तो ‘नर्क’ जस्तो गहिराइमा पुगेर काम गरिरहेका छन्।
हामी सुनको मूल्यलाई केवल बजारको भाउ वा ‘तोला’ मा नाप्छौँ, तर यो धातुको वास्तविक मूल्य ती नामहीन श्रमिकहरूको जीवन र संघर्षमा लुकेको छ। सुनको हरेक टुक्राले एउटा भयानक र कठोर श्रमको कथा बोकेको छ।
संयुक्त राष्ट्र संघका अनुसार सुन खानी उद्योगमा १ करोड ५० लाखदेखि २ करोड व्यक्तिहरू काम गर्छन्। बालश्रम प्रायः गरिब क्षेत्रहरूमा हुने ‘आर्टिसनल’ र साना स्तरका खानी सञ्चालन (ASM) मा देखिन्छ। औद्योगिक खानीहरू जस्तो नभई, यी साना खानीहरूमा कडा नियमन नहुने भएकाले बालश्रम व्यापक छ। प्रत्येक वर्ष उत्खनन गरिने सुनको करिब २० प्रतिशत हिस्सा यस्तै साना खानीहरूबाट आउँछ।
बुर्किना फासो, माली र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अनाथ बालबालिकाहरूले दिनको १२ देखि १५ घण्टा सुन छान्न बिताउँछन्। मालीमा ह्युमन राइट्स वाचको अनुमान अनुसार कम्तीमा २०,००० बालबालिका सुन खानीमा काम गर्छन्। वयस्क श्रमिकहरूले जमिन मुनि कम्तीमा २० फिट गहिरो खाडल खन्छन्। उनीहरूले ढुङ्गाका टुक्राहरूलाई झोलामा भर्छन्, जसमा सुन हुन पनि सक्छ वा नहुन पनि सक्छ। बालबालिकाहरू जमिन माथि बस्छन् र दिनभरि ती भारी झोलाहरू तान्ने काम गर्छन्। यस्तो भार बोक्दा प्रायः ढाड दुख्ने र मेरुदण्डमा चोट लाग्ने समस्या हुन्छ। कामको अन्त्यमा उनीहरूलाई पैसा दिइँदैन; बरु उनीहरूले ढुङ्गाको एउटा झोला घर लैजान्छन्, यस आशामा कि त्यहाँ कतै सुनको सानो टुक्रा लुकेको होला। खानीको नजिकै र कहिलेकाहीँ आफ्नै घरको आँगनमा मानिसहरू पारो र सुनलाई सँगै जलाएर सुन प्रशोधन गर्छन्। यसबाट निस्कने वाष्पले स्नायु प्रणालीमा आक्रमण गर्छ, नशा पैदा गर्छ र मृत्यु समेत गराउन सक्छ।

दक्षिण अफ्रिकाको एम्पोनेङ (Mponeng) खानी संसारकै सबैभन्दा गहिरो मानव निर्मित सुरुङ हो। यहाँ काम गर्नु भनेको मृत्युको मुखमा पस्नु जस्तै हो। सतहबाट ४ किलोमिटर मुनि पुग्दा पृथ्वीको आन्तरिक ताप ६० डिग्री सेल्सियसभन्दा बढी हुन्छ। विशाल ‘आइस प्लान्ट’ हरूले चिस्यान नपठाउने हो भने मानिस त्यहाँ १० मिनेट पनि जीवित रहन सक्दैन। थिबाट खप्टिएको करोडौँ टन चट्टानको चापले गर्दा कुनै पनि बेला सुरुङ भत्किने (रकब्रस्ट)को डर त छँदै छ। अनि अझ, सुरुङभित्रको सिलिका धुलोले श्रमिकहरूको फोक्सो बिस्तारै ढुङ्गा जस्तै कडा बनाइदिन्छ, जसलाई ‘सिलिकोसिस’ भनिन्छ।
हामीले लगाउने एक तोला (११.६६ ग्राम) सुन निकाल्न प्रकृति र मानिसले कति मूल्य चुकाउनुपर्छ?
औसतमा एक तोला सुन निकाल्न झण्डै २० देखि ५० टन सम्म चट्टान र माटो खनेर बाहिर निकाल्नुपर्छ। यो भनेको एउटा ठूलो ट्रक भरिने माटो हो।
खनिएको चट्टानबाट सुन छुट्ट्याउन ‘सायनाइड’ र ‘पारो’ (मर्करी) जस्ता घातक रसायनहरू प्रयोग गरिन्छ, जसले वरपरको जमिन र पानीलाई शताब्दीऔँसम्मका लागि विषाक्त बनाइदिन्छ। ठूला सुन खानीहरूले एक किलो सुन प्रशोधन गर्न लाखौँ लिटर पानी खर्च गर्छन्, जुन कतिपय गाउँका लागि वर्षभरिको खानेपानी बराबर हुन्छ।
अफ्रिकाका कतिपय देशहरूमा सुन खानीहरू सशस्त्र विद्रोही समूहहरूको कब्जामा छन्। साना-साना बालबालिकाहरूलाई साँघुरा सुरुङभित्र छिराएर सुन खोज्न लगाइन्छ। उनीहरूको सानो शरीरले ती ठाउँमा पुग्न सजिलो हुने भएकाले उनीहरूलाई ‘आधुनिक दास’को रूपमा प्रयोग गरिन्छ। जसरी ‘ब्लड डायमण्ड’को चर्चा हुन्छ, त्यसरी नै अवैध सुन खानीबाट हुने आम्दानीले गृहयुद्ध र आतंककारी गतिविधिहरूलाई आर्थिक टेवा पुर्याइरहेको छ।
नेपालका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरणमा ‘पैतृक’ वा ‘उपहार’ भनेर उल्लेख गरेका सुनका बिस्कुट र गहनाहरू वास्तवमा विश्वको कुनै कुनामा रहेको श्रमिकको रगत र पसिनाको एकीकृत स्वरूप हो। काठमाडौँको सुरक्षित लकरमा थुप्रिएको सुन र एम्पोनेङको अँध्यारो सुरुङमा छट्पटाइरहेको श्रमिकको बीचमा एउटा गहिरो र दुखद आर्थिक सम्बन्ध छ, जसबारे हामी कमै चर्चा गर्छौं। यसैकारण, सुनलाई एउटा रसायनिक तत्व मात्र होइन, यो मानवीय पसिना र वातावरणीय विनाशको ठोस रूप हो भनेर पनि बुझ्न आवश्यक छ। यसको पहेंलो चमकमा ती करोडौँ श्रमिकहरूको दुःख पनि छ, जसको बिना यो धातु कहिल्यै धर्तीको सतहमा आउन सक्दैनथ्यो।

मानिसहरू कागजी नोटभन्दा सुनलाई किन बढी विश्वास गर्छन्? यसको कारण सरल छ। र जटिल पनि छ।
संसारका ठूला साम्राज्यहरू ढले, मुद्राहरू खरानी भए, तर सुनको मूल्य कहिल्यै शून्य भएन। मानिसले कागजी नोटभन्दा बढी सुनमा विश्वास गर्नुका मुख्य पाँचवटा कारणहरू छन्:
१. कृत्रिम छपाइ विरुद्ध प्राकृतिक दुर्लभता
कागजी नोट (Fiat Currency) को पछाडि सरकारको “कसम” मात्र हुन्छ। सरकारलाई पैसा चाहियो भने उसले मेसिन चलाएर अर्बौँ नोट छाप्न सक्छ। जब बजारमा नोटको थुप्रो लाग्छ, त्यसको क्रयशक्ति घट्छ; जसलाई हामी मुद्रास्फीति भन्छौँ। तर, सुनलाई न त सरकारले छाप्न सक्छ, न त वैज्ञानिकले प्रयोगशालामा बनाउन सक्छन्। यो पृथ्वीमा जति छ, त्यति नै छ। यसको आपूर्ति सीमित हुनु नै यसको सबैभन्दा ठूलो शक्ति हो।
२. ‘सुरक्षित आश्रय’ (सेफ हेभन)को भूमिका
जब विश्वमा युद्ध हुन्छ (जस्तै रुस–युक्रेन वा मध्यपूर्व तनाव), मानिसहरूलाई बैंक र सरकारमाथि विश्वास लाग्न छाड्छ। यस्तो बेला डलर वा अन्य मुद्राको मूल्य अस्थिर हुन्छ। : जे.पी. मोर्गनको २०२६ को प्रक्षेपणले सुनको मूल्य $५,००० प्रति औँस पुग्ने देखाउनुको अर्थ हो; विश्वले अहिले ठूलो आर्थिक वा राजनीतिक जोखिम महसुस गरिरहेको छ। इतिहास साक्षी छ, जतिबेला संसार अस्थिर हुन्छ, सुन त्यति नै बलियो भएर निस्कन्छ।
३. अन्तर्राष्ट्रिय स्वीकार्यता: बोर्डरबिनाको मुद्रा
यदि तपाईँसँग नेपाली रुपैयाँ छ भने त्यो भारत वा अमेरिकाको पसलमा चल्दैन, त्यसलाई साट्न बैंक जानुपर्छ। तर, सुन एउटा यस्तो ‘विश्वव्यापी भाषा’ हो, जसलाई संसारको जुनसुकै कुनामा पनि तुरुन्तै धनको रूपमा स्वीकार गरिन्छ। यसलाई कुनै केन्द्रीय बैंकको सिफारिस वा डिजिटल नेटवर्कको आवश्यकता पर्दैन। यो आफैँमा एउटा पूर्ण सम्पत्ति हो।
४. क्रयशक्तिको संरक्षण
एक रोचक तुलना गरौँ: सय वर्षअघि एक तोला सुनले जति राम्रो लुगा वा खाद्यान्न किन्न सकिन्थ्यो, आज पनि त्यति नै किन्न सकिन्छ। तर, सय वर्षअघिको ‘सय रुपैयाँ’को नोटले आज एउटा राम्रो कफी पनि आउँदैन। यहाँ के भयो भन्दा- कागजी नोटले समयसँगै आफ्नो मूल्य गुमाउँदै गइरहेको छ, तर सुनले शताब्दीऔँसम्म आफ्नो मूल्य जोगाएर राखिरहेको छ।
५. प्रतिपक्ष जोखिमको अभाव (नो काउन्टरपार्टी रिस्क)
जब तपाईँ बैंकमा पैसा राख्नुहुन्छ, तपाईँ बैंकमाथि निर्भर हुनुहुन्छ। यदि बैंक डुब्यो भने तपाईँको पैसा जोखिममा पर्छ। तर, यदि तपाईँको हातमा सुनको सिक्का छ भने तपाईँ कसैमाथि पनि निर्भर हुनु पर्दैन। यो तपाईँको पूर्ण नियन्त्रणमा रहने भौतिक सम्पत्ति हो।
हामी एउटा यस्तो मोडमा छौँ जहाँ एकातिर ‘भर्चुअल’ संसार छ भने अर्कोतिर सुन जस्तो ‘भौतिक’ सत्य। सुनको भविष्य केवल बैंकका लकरहरूमा मात्र सीमित छैन, यो त अब ब्रह्माण्डको गहिराइसम्म फैलिँदैछ। हामी अहिले डिजिटल युगमा छौँ। कतिपयले ‘बिटक्वाइन’लाई डिजिटल सुन भन्छन्। तर, भौतिक सुनको सान्दर्भिकता कहिल्यै सकिँदैन भनेर विज्ञहरू स्विकार्दछन्। उनीहरू अबको भविष्य ‘अन्तरिक्ष खानी’ (Asteroid Mining) मा छ भन्दछन्।

१. १६ साइकी: अन्तरिक्षको ‘स्वर्ण खानी’
पृथ्वीका खानीहरू बिस्तारै रित्तिँदै जाँदा वैज्ञानिकहरूको नजर अब अन्तरिक्षतिर सोझिएको छ। मंगल र बृहस्पति ग्रहको बीचमा रहेको ‘१६ साइकी’ नामक क्षुद्रग्रह (Asteroid) मा यति धेरै सुन, फलाम र निकल छ कि त्यसको मूल्य १० क्वार्ड्रिलियन डलर (१० पछि १५ वटा शून्य) बराबर हुने अनुमान छ। दि कुनै दिन नासा वा कुनै निजी कम्पनीले यो क्षुद्रग्रहको धातु पृथ्वीमा ल्याउन सक्यो भने, सिद्धान्ततः संसारका हरेक व्यक्ति अर्बपति बन्नेछन्। तर, यसले सुनको मूल्यलाई कौडीको भाउमा झार्न सक्छ, जसले अर्थतन्त्रमा नयाँ उथलपुथल ल्याउनेछ।
प्रविधिमा प्रयोग: तपाईँले हातमा समातेको स्मार्टफोनदेखि अन्तरिक्षमा पुग्ने स्याटेलाइटसम्म सुनको प्रयोग अनिवार्य छ। यो खिया नलाग्ने र बिजुलीको उत्कृष्ट सुचालक भएकोले भविष्यको प्रविधि सुनबिना सम्भव छैन।

२. विधि र सुन: विलासिता होइन, अनिवार्यता
तपाईँले यो लेख पढिरहनुभएको स्मार्टफोन वा ल्यापटपभित्र सुनको सानो अंश छ। भविष्यको प्रविधि सुनबिना अपूर्ण छ किनभने सुनमा खिया लाग्दैन र यो बिजुलीको उत्कृष्ट सुचालक हो। स-साना ‘माइक्रोचिप्स’ देखि जटिल ‘सर्किट बोर्ड’ सम्म सुनको विकल्प छैन। अर्को कुरा, अन्तरिक्षमा पठाइने स्याटेलाइट र टेलिस्कोपहरू (जस्तै जेम्स वेब टेलिस्कोप) मा सुनको पातलो लेप लगाइन्छ। यसले सूर्यको हानिकारक विकिरणलाई परावर्तन गरेर उपकरणहरूलाई सुरक्षित राख्छ।
३. डिजिटल सुन (बिटक्वाइन) भर्सेज भौतिक सुन
अहिलेको पुस्ताले बिटक्वाइनलाई ‘डिजिटल गोल्ड’ भन्छन्। तर, यी दुई बीच एउटा गहिरो दार्शनिक र प्राविधिक भिन्नता छ। कुरा निर्भरताकै हो, बिटक्वाइन अस्तित्वमा रहन बिजुली, उच्च क्षमताको सर्भर र इन्टरनेटको नेटवर्क चाहिन्छ। यदि संसारमा ‘डिजिटल ब्ल्याकआउट’ भयो भने बिटक्वाइनको मूल्य शून्य हुन सक्छ। अनि यता, सुनलाई चम्कन कुनै तार वा बिजुली चाहिँदैन। यो विनाशकारी युद्ध, प्रलय वा प्रविधि फेल भएको अवस्थामा पनि आफ्नो भौतिक अस्तित्व र मूल्य जोगाइराख्न सक्षम छ। त्यसैले विज्ञहरू भन्छन्: “डिजिटल सुन सुविधा हो, भौतिक सुन सुरक्षा हो।”
४. पुन: प्रयोग: भविष्यको नयाँ ‘खानी’
पृथ्वीमा अब नयाँ सुन फेला पार्न गाह्रो हुँदै गएकाले ‘अर्बन माइनिङ’ (Urban Mining) को अवधारणा आएको छ। पुराना मोबाइल र कम्प्युटरहरूबाट सुन निकालेर पुनः प्रयोग गर्नु नै भविष्यको ठूलो उद्योग हुनेछ। तपाईँको पुरानो फोन नै भविष्यको सुनको स्रोत बन्न सक्छ। त्यो किन पनि भने, सुनको भविष्य यसको भौतिक गुणमा लुकेको छ। यो एउटा लगानी मात्र होइन, यो भविष्यको उच्च-प्रविधिको आधारशिला बनिरहेकै छ। जबसम्म मानिसले अन्तरिक्षमा यात्रा गर्छ र हातमा ग्याजेट बोक्छ, सुनको सान्दर्भिकता कहिल्यै समाप्त हुने छैन।
नेपालको सन्दर्भमा सुन एउटा धातु वा गहना मात्र होइन, यो एउटा ‘छद्म मुद्रा’ (श्याडो मनि) र शक्तिको प्रतीक पनि हो। बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि यसले नेपाली अर्थतन्त्र र राजनीतिको एउटा रोचक पाटो उजागर गरेको छ, जो अझै पनि सेलाइसकेको छैन।
२०८२ चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणले नेपाली समाजलाई झस्कायो। औसत नेपालीको तुलनामा मन्त्रीहरूको सुनको मात्रा अकल्पनीय देखियो।
प्रधानमन्त्री बालेन्द्र शाहको विवरणमा उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला (करिब सवा दुई केजी) सुन देखियो। ३ लाख प्रति तोलाको दरले यसको मूल्य साढे ५ करोड रुपैयाँभन्दा बढी हुन्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला र मन्त्रिमण्डलका अन्य सदस्यहरूको पनि ठूलो मात्रामा सुन देखिनुले यो सरकार ‘सुनै सुनको सरकार’ जस्तो देखिन पुग्यो। अर्थमन्त्री वाग्लेले विगतमा अन्य नेताहरूको सुन संग्रहलाई ‘ब्याक टु गुड ओल्ड डेज’ (पुरातन शैलीमा फर्किएको) भन्दै कटाक्ष गरेका थिए। अहिले आफैँसँग त्यति धेरै सुन देखिनुलाई धेरैले राजनीतिक नैतिकताको प्रश्न बनाएका छन्।

र, नेपाली मन्त्री र उच्चपदस्थहरूले अन्य क्षेत्र छाडेर सुनमा लगानी गर्नुका पछाडि विभिन्न कारणहरू हुन् सक्दछन्।
पहिलो कुरा सुनको मूल्यमा निरन्तर वृद्धि हुनुपर्दछ किनभने अन्तर्राष्ट्रिय संकट र युद्धका कारण सुनको भाउ निरन्तर बढिरहेको छ, जसले गर्दा यो सबैभन्दा ‘सुरक्षित’ लगानी बनेको छ। दोस्रो, नेपाली समाजमा सुन सामाजिक प्रतिष्ठा र परम्परासँग पनि जोडिएको छ। विवाह र सांस्कृतिक कार्यमा सुन अनिवार्य हुनु र यसलाई सामाजिक ओहोदासँग सुनसँग प्रत्यक्ष सम्बन्ध अझ बढ्दो क्रममा छ।
तेस्रो, सुन शेयर र जग्गाभन्दा तरल वस्तुको रुपमा देखिन्छ। जग्गा बेच्न महिनौँ लाग्न सक्छ, तर सुन आवश्यक पर्दा केही घण्टामै नगदमा बदल्न सकिन्छ। त्यसमाथि यसका लागि जग्गा किन्नजस्तो धेरै रकम चाहिंदैन र घरजग्गा बेच्नुपर्दा ग्राहक नपाएर भौतारिनु पनि पर्दैन। पहिलेजस्तो सुन घरमा राख्दा हुने चोरीको डर पनि अचेल छैन। वार्षिक २–३ हजार तिरेपछि बैंकको लकरमा सुरक्षित राख्न पाइन्छ।
चौथो, जग्गामा ‘हदबन्दी’ छ, भूमिसम्बन्धी ऐन २०२१ ले अधिकतम १० बिघा तोकेको छ। धितोपत्रको दोस्रो बजारको सेयरका हकमा पनि बैंक तथा वित्तीय संस्था, बीमा तथा लघुवित्तका नियामकले निश्चित संख्याभन्दा धेरै लिन नपाउने व्यवस्था गरेको छ। तर, सुन जति राखे पनि जफत हुने वा सरकारीकरण हुने कानुनी डर छैन। सुन खरिद गर्ने हकमा ढिक्का सुनमा नियन्त्रण गरिए पनि गहनाका रूपमा खरिद गरेर राख्न कुनै सीमा हालसम्म छैन। त्यसका लागि सुन खरिद गरेको पैसाको स्रोतसम्म भने खोजी हुन सक्छ। सम्पत्ति शुद्धीकरण निवारण विभागले स्रोत हेर्ने भएकाले खरिद गर्ने हकमा कुनै सीमा नभएको बताउने गरिन्छ।
पाँचौँ, जग्गा वा शेयरको रेकर्ड सरकारसँग हुन्छ, तर सुन कसले, कहिले र कहाँबाट किन्यो भन्ने एकीकृत तथ्याङ्क नेपालमा छैन। यसले ‘कालो धन’ लुकाउन मद्दत गर्छ।
छैटौँ कारण भनेको, सुन किनबेच गर्दा सुन पसलेले तपाईंले कमाएको नाफामा कर कट्टी गर्दैन। जबकी शेयर वा जग्गा बेच्दा ५ देखि ७.५ प्रतिशत लाभकर/अग्रिम कर तिर्नुपर्छ, तर सुन बेचेर हुने नाफामा नेपालमा अहिलेसम्म प्रभावकारी कर प्रणाली छैन। शेयर र घरजग्गाबाट हुने आम्दानीलाई कर कानूनमै ‘गैर व्यवसायिक सम्पत्ति’ भनी करको दायरामा राखिएको छ, तर सुन यस दायराबाट मुक्त छ। पछिल्लो समय सबैभन्दा राम्रो आम्दानी गर्न सकिने भनेर लगानी बढिरहेको सुनलाई गैर व्यवसायिक सम्पत्तिमा राखी कर लिनुपर्छ भनी व्याख्या गरिएको छैन। २०८२ साउनदेखि सुनमा २ प्रतिशत विलासिता कर लाग्छ। सुन कारोबारबाट आम्दानी हुने तर यसलाई करको दायरामा नल्याइएको हुँदा सरकारले कर लगाएको थियो। यो निर्णयको विरोध गर्दै कर हटाउन सुन व्यवसायीहरूले आन्दोलन नै गरेका थिए। तर उनीहरूको प्रयास विफल भयो। त्यसबाहेक बजारमा हुने सुनको कारोबारबाट सरकारले अरू खासै केही पाउँदैन।
सातौँ, जागिर सुरु गर्दा वा मन्त्री बन्दा ‘पैतृक’ वा ‘दाइजो’ भनिदिएपछि त्यसको स्रोत कसैले चेक गर्दैन। नगरेको नै पाइन्छ। यसैले कतिपयले सम्पत्ति घोषणामै छलछाम गर्न मिल्ने हुँदा धेरैले सम्पत्तिमा सुन देखाइएको हुन सक्ने आंकलन पनि गरिरहेका छन्, यद्यपि यसबारे यसै भन्न सकिदैन।
नेपाल राष्ट्र बैंकले ‘सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५’ मार्फत जफत गरिएको वा आयातित सुनलाई असर्फीमा बदलेर एउटा कानुनी प्रक्रियामा बाँधेको त छ तर, रकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको सयौँ तोला सुनले नीति र नियतबीचको खाडललाई छर्लङ्ग पारेको छ। यो कार्यविधिले नेपालमा सुनलाई केवल गहनाको रूपमा मात्र नभई ‘मौद्रिक धातु’ को रूपमा राष्ट्र बैंकले कसरी व्यवस्थापन गर्छ भन्ने देखाउँछ। मन्त्रीहरूले राख्ने ‘सुनका बिस्कुट’ र राष्ट्र बैंकले जारी गर्ने ‘असर्फी’ बीचको मुख्य भिन्नता नै यही वैधता र टकमरी प्रक्रिया हो। राष्ट्र बैंकले जारी गर्ने असर्फी पूर्ण रूपमा वैध र ग्यारेन्टीयुक्त हुन्छ, जबकि बजारमा पाइने बिस्कुटहरूको स्रोतमाथि सधैँ प्रश्न उठ्न सक्छ।

कानुनी अड्चन र खरिदको ‘धमिलो’ प्रक्रिया
नेपालमा सुनको कारोबार निकै कडा तर अपारदर्शी कानुनी व्यवस्थाभित्र खुम्चिएको छ।
नेपालको कानुनले सुनलाई ‘लगानीको वस्तु’ मान्दैन। यसलाई केवल ‘गहना’ वा ‘विलासी वस्तु’ मानिन्छ। त्यसैले सर्वसाधारणले काँचो सुन (बिस्कुट वा सिक्का) सिधै किन्न पाउँदैनन्। नेपालमा गहनाको रूपमा मात्र सर्वसाधारणले सुन किन्न पाउँछन् । अर्थात्, नेपालमा सुनमा लगानी गर्नु भनेको गहना किन्नु हो । तर, गहना किन्नु सुनमा लगानी होइन। यसको कारण हो, गहना बनाउँदा त्यसको ज्याला तिर्नुपर्छ। गहना बनाउँदा सुनका केही हिस्सा नोक्सान हुन्छ, त्यसलाई सामान्य भाषामा जर्ती भनिन्छ।
अर्को कुरा, नेपालमा सुन सिधै खुद्रा सुनचाँदी व्यवसायीले आयात गर्न पाउँदैनन्। सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ। जसमा पनि आयातको सीमा तोकिएको छ । उनीहरूले दिनको २० देखि २५ केजी मात्र आयात गर्न पाउँछन्, जुन बजारको मागभन्दा निकै कम छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रतन तथा आभूषण महासंघजस्ता सुनचाँदी व्यवसायीका छाता संगठनको सिफारिसमा थोक क्रेताहरूले वाणिज्य बैंकबाट सुन किन्छन्। र, जिल्ला सुनचाँदी व्यवसायी संघहरूको सिफारिसमा थोक क्रेताबाट खुद्रा क्रेताहरूले किन्छन्। उपभोक्ताहरूले त्यही खुद्रा क्रेताबाट सुन किन्ने गर्दछन्। यसर्थ नेपालमा सुनचाँदी खरिद प्रक्रिया तहगत रूपमा हुन्छ। यो लामो र झन्झटिलो प्रक्रियाले गर्दा बजारमा सुन सधैँ अभाव हुन्छ।
कानुनी रूपमा आउने सुनले माग नधान्ने हुनाले नेपालको सुन बजार ठूलो मात्रामा तस्करीको सुनमा निर्भर छ। मन्त्रीहरूले देखाएको सयौँ तोला सुन कुन प्रक्रियाबाट आयो भन्ने प्रश्न जहिले पनि अनुत्तरित रहन्छ। यसपाला पनि त्यसै भएको हो।
नेपाल सरकार र राष्ट्र बैंकले सुनमा लगानी खुला नगर्नुको मुख्य कारण विदेशी मुद्राको सञ्चिति घट्ने डर हो। यदि सबैले सुनमा लगानी गर्न थाले भने नेपालको डलर सुन किन्नमै सकिन्छ र देश श्रीलंकाको बाटोमा जान सक्छ भन्ने सरकारी बुझाइ छ। नेपाल सरकारले सुनलाई अनुत्पादक लगानीको क्षेत्र मानेको छ । त्यसैले यसमा विलासी कर समेत थपेर अनावश्यक वस्तुका रूपमा व्यवहार गरिरहेको छ । यसले एउटा दार्शनिक प्रश्न उठाउँछ: “मन्त्रीहरू आफैँले बनाएको आर्थिक प्रणालीमा विश्वास गर्दैनन् र सुन थुपार्छन् भने, सर्वसाधारणले कागजी नोटमा कसरी विश्वास गर्ने?”
सुनको यो अर्थराजनीतिले देखाउँछ कि हामी जतिसुकै आधुनिक र ‘डिजिटल’ भए पनि, अन्तिममा हाम्रो सुरक्षाको भरोसा त्यही आदिम र पहेंलो धातुमै अडिएको छ।
सुन के हो? भौतिक विज्ञानका लागि यो केवल ७९ परमाणु संख्या भएको एउटा तत्व मात्र हो। तर दार्शनिक र मार्क्सवादी चेतनाका लागि यसको अर्थ निकै गहिरो र विरोधाभासपूर्ण छ। प्रधानमन्त्री बालेन्द्र शाहको निजी ढुकुटी होस् वा अमेरिकी ‘फोर्ट नक्स’मा थुप्रिएको सुन, सबैको मूल दर्शन ‘भय र असुरक्षित भविष्यबाट मुक्ति’ नै देखिन्छ। तर अलि गहिरिएर हेर्ने हो बहने, यो मुक्ति एउटा ठूलो भ्रम हो। यो वस्तु मोह नै हो।
मानिसले सुनको भौतिक चमक र दुर्लभतालाई यति धेरै महत्त्व दिइरहेको छ कि उसले त्यो सुन निकाल्न प्रयोग भएको मानवीय श्रम, रगत र पसिनालाई पूर्णतः बिर्सिरहेको छ। कागजी नोट सरकारको भरोसामा चल्छ भने सुन आफ्नै भौतिक अस्तित्वमा टिक्छ, यो सत्य हो। तर पुँजीवादी व्यवस्थामा सुन आफैँमा एउटा यस्तो सामाजिक सम्बन्ध बन्न पुग्छ जसले मानिसलाई आफ्नो दास बनाउँछ। अनिश्चित भविष्यबाट बच्न मानिसले जुन ‘ठोस चमक’को खोजी गर्छ, त्यो वास्तवमा उसले आफैँले बनाएको आर्थिक प्रणालीको दासत्व मात्र हो। यहीँनेर हामीले शासक वर्गको नियतमाथि पनि गम्भीर प्रश्न उठाउनुपर्ने हुन्छ। सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको सयौँ तोला सुनले एउटै कुरा सोधिरहेको छ: यो “भविष्यको सुरक्षा” कसका लागि हो? के यो आम सर्वसाधारणको सुरक्षा हो? वा यो शासक वर्गले आफ्नो वर्ग-हित जोगाउन र पुँजी थुपार्न गरेको एउटा सुरक्षित लगानी मात्र हो?
जब शासकहरू आफैँले बनाएको आर्थिक प्रणाली, बैंक र शेयर बजारमा विश्वास गर्दैनन् र सुन जस्तो “आदिम र छद्म मुद्रा” मा आश्रित हुन्छन्, तब उनीहरूले आम जनतालाई “हामी देश विकास गर्छौँ” भनेर कुन मुखले विश्वास दिलाउन सक्छन्? यो नीति र नियतबीचको डरलाग्दो खाडल हो जहाँ शासक वर्गले आफ्नो सुरक्षाको पर्खाल त खडा गर्छ तर सर्वसाधारणलाई अनिश्चितताको खाडलमा अलपत्र छोडिदिन्छ।
आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत २१८३ सम्म पुग्दा मानिस मंगल ग्रहमा बस्ती बसाल्न थालिसक्ला। त्यहाँ पनि उसले बिटक्वाइनका कोडहरूसँगै सुनका पाताहरू बोकेर जाने सम्भावना प्रबल छ। किनकि पुँजीवादी चेतनाले हामीलाई अझै पनि “दुर्लभ वस्तु नै मूल्यवान् हुन्छ” भन्ने सिकाउँछ। ताराको खरानी र भूकम्पको झट्काबाट आकार लिएको यो धातुले हामीलाई जहिले पनि एउटै कुरा सम्झाउँछ कि पुँजीवादी व्यवस्था र मानवीय स्वभाव दुवै अझै पनि ‘अतृप्त चाहना’का दास छन्।
अन्त्यमा, जबसम्म मानिसमा सुरक्षा र सुन्दरताको यो कृत्रिम भोक रहिरहन्छ, सुनको चमक कहिल्यै फिक्का हुने छैन। तर प्रश्न बाँकी नै रहन्छ: के राज्य सञ्चालकहरूको ढुकुटीमा थुप्रिएको सुनले खानीमा पसिना बगाउने श्रमिकको भविष्य कहिल्यै उज्यालो बनाउला? या यो चमकले केवल सत्ताको अन्धकारलाई मात्र छोपिरहनेछ?
