अपराधमा कालिका समुह : विक्रम पाण्डे हिरासतमा, छोरामाथि सम्पत्ति शुद्धीकरणको छानबीन !

दियोपोस्ट संवाददाता  

काठमाडौं । हाल प्रहरी हिरासतमा रहेका कालिका निर्माण सेवा नामक ठेकेदार कम्पनिका मालिक विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मात्रै होइनन् पूर्वभौतिक पूर्वाधार मन्त्री समेत हुन् । पाण्डे नेतृत्वको ‘कालिका ग्रुपको वेभसाइटमा उनको समुह कुण्डली लेखिएको छ ।
वेभसाइट अनुसार यो समुहको नाम ‘कालिका’ हिन्दू धर्मशास्त्रमा उल्लेखित देवी “काली“ बाट राखिएको हो । ‘जसलाई प्रायः “शक्ति“ को रूपमा चिनिन्छ । काली “भीषण ऊर्जा“, “पुनः सृष्टि“ र “समयको स्रोत“ को प्रतीक हुनु । सुल्झाउन नसकिने समस्या सुल्झाउने र जित्न नसकिनेलाई जित्ने दिव्य शक्ति उहाँमा रहेको विश्वास गरिन्छ,’ प्राचीन कथाहरूमा “कसरी शिव वा शक्तिका अन्य रूपहरूले सबैभन्दा ठूला चुनौतीहरूलाई परास्त गर्न अन्तिम विकल्पको रूपमा देवी कालीको दैवी भूमिकालाई आह्वान गर्छन्“ भन्ने चर्चा गरिएको छ,’ वेभसाइटमा भनिएको छ ।

त्यतिमात्रै होइन कालीकै नामबाट आफ्नो क्षमता प्रदर्शन र उत्कृष्ठतामा समेत प्रबिद्धता व्यक्त गरिएको छ ।

‘देवी “काली“ मा निहित यी मूल्य र मान्यताहरूलाई आफ्ना प्रत्येक प्रयासहरूमा आत्मसात् गर्दै, “कालिका“ समूह एक कम्पनीको रूपमा चुनौतीहरूलाई स्वीकार गर्न, उच्च स्तरको समस्या समाधान गर्ने क्षमता प्रदर्शन गर्न र उत्कृष्ट कार्य सम्पादन गर्न प्रतिबद्धता गर्दछ,’ वेभसाइटमा भनिएको छ,‘यसले हामीलाई एक यस्तो संस्थाको रूपमा स्थापित गरेको छ जसले अरूभन्दा भिन्न रहेर असम्भव देखिने लक्ष्यहरू प्राप्त गर्दछ । हामी कालिकामा ‘सशक्तिकरण’ मा विश्वास गर्छौं । हामीले आफ्नो व्यवसाय विस्तार गर्दै जाँदा हाम्रा कर्मचारी, ग्राहक, उपभोक्ता, आपूर्तिकर्ता र सम्पूर्ण सरोकारवालाहरूलाई सशक्त बनाउने प्रयास गर्दछौं ।’

कथित भगवानको नाममा स्थापित कालिका समुहलाई अहिले दुर्दशा लागेको छ । कम्पनिका मालिक तथा अध्यक्ष विक्रम पाण्डे सार्वजनिक खरिद सम्बन्धी ठेक्का ह्याक गरि संगठित अपराध गरेको कसुरमा पक्राउ परेका छन् । उनलाई लामो समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरि हिरासतमा राखेको छ भने उनका छोरा तथा कालिका समुहका निर्देशक निकोलश पाण्डे सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा छानबीनमा तानिएका छन् ।
बाबु पाण्डेलाई नजिकबाट चिन्नेहरुका अनुसार कुनै समय उनी चितवनमा बसेर नाइट बस लुट्ने काम गर्थे । समुह बनाएर गुण्डागर्दीमा संलग्न रहेका पाण्डेले सन् १९७६ देखि ठेक्का पट्टा सम्बन्धी कम्पनि खोलेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय को सूचना प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्का प्रक्रियामा हेरफेर गर्ने र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गर्ने संगठित गिरोहमाथि अपरेशन चलाएको थियो ।

पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेसहित २२ विरुद्ध अभियोग पत्र दर्ता भएको हो । यो गिरोहले आइएमस सफटवेयर प्रा.लीद्वारा सञ्चालित डेटा हबको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग गरेको भिपिएस सर्भरलाई माध्यम बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र प्रणाली नै ह्याक गरेका थिए । नेपाल प्रहरीका साइबर ब्युरोको अनुरोधमा सीआइबीले कालिका निर्माण सेवाका मालिक पाण्डे, आशिष निर्माण सेवाका ऋषिकेश गौली लगायत २२ जनालाई मुद्दा चलाएको छ ।
ब्युरोले गरेको अनुसन्धानमा ठेकेदार पाण्डेले युजर नेम कालिकाएसी दुरुपयोग गरि मुख्य अभियुक्त समेत रहेका दिवाकर देउजाले सेटअफ गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरको समानान्तर सर्भर मार्फत आइएमएस सफटवेयर प्रा.लीबाट सार्वजनिक अनुगमन कार्यालयको सर्भरलाई प्रदान गर्ने भिपिएस सर्भर मा अनधिकृत प्रवेश गरेपछि आफ्नो नाममा ठेक्का प्राप्त गर्न ठेक्कासम्बन्धी गोप्यकागजात विवरणमा हेरफेर गरेका थिए ।

पण्डेले कागजात हेरफेर गरि ६७ करोडलाई ६० करोडमा घटाएको देखिन आएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले संयुक्त रुपमा अनुसन्धान गरिरहेको दिपक भट्ट र शेखर गोल्छा जोडिएको सम्पत्ति सुद्धिकरण कसुरमा छोरा निकोलस पाण्डे समेत अनुसन्धानमा तानिएका छन् । निर्माण व्यावसायी महासंघका अध्यक्ष समेत रहेका पाण्डेले बाबु पक्राउ परेपछि सरकारविरुद्ध नै वक्तव्य दिएका थिए ।

 

विचौलिया दिपक भट्टले सेटिङमा हत्याएको लघु विमा कम्पनिको अध्यक्ष नै पाण्डे रहेको पाइएको छ । हाल सीआईबी र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको लिबर्टी माइक्रो इन्स्योरेन्सको अध्यक्ष पाण्डे नै रहेको पाइएको हो । यो कम्पनिमा विवादास्पद पूर्वगृहमन्त्री सुधन गुरुङको समेत २५ हजार थान शेयर रहेको छ । पाण्डेको नाममा ८० हजार थान शेयर रहेको शेयरलगत कितावमा उल्लेख छ । यो कम्पनिमा शंकर समुहको स्वामित्व रहेको लाङटाङ ईन्भेष्टमेन्टको तर्फबाट ११ लाख २५ हजार थान सेयर रहेको छ । शंकर समुहका सुलभ अग्रवाल पनि यतिबेला सम्पत्ति सुद्धिकरण विभागको हिरासतमा रहेका छन् । यो कम्पनिमा दिपक भट्टका आफन्त तथा अर्का विचौलिया रामचन्द्र भट्टको पनि ५० हजार थान सेयर रहेको छ । उनीमाथि पनि विभागले अनुसन्धान गरिरहेको छ ।

न्युन आय भएका जनतामा बीमाको पहुँच पुर्याउन भन्दै प्रस्ताव गरिएपनि बीमा प्राधिकरणले विचौलिया दिपक भट्टको योजना र सेटिङमा उनकै समुहलाई फाइदा पुग्ने गरि लाइसेन्स वितरण गरेको थियो ।

सिफारिस