सगरमाथा आरोही विश्वकर्माको निधनप्रति डिएनएफद्वारा ‘शोक’ व्यक्त, सम्मानजनक अन्त्येष्टि र राहतका लागि सरकारसंग आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको सगरमाथा आरोहणका क्रममा असामयिक निधन भएपछि उनको सम्मानजनक अन्त्येष्टि र राहतको माग गरिएको छ । दलित गैर सरकारी संस्था महासंघ (डिएनएफ)ले सोमबार शोक विज्ञप्ती जारी गर्दै मृतकका परिवारलाई सरकारसंग राहतको माग गरेको हो ।

महासंघले विश्वकर्माको निधनले सम्पूर्ण दलित समुदायलाई स्तब्ध बनाएको भन्दै दिवंगत विश्वकर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। दलित समुदायका तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही विश्वकर्माले देशको गौरव बढाएको भन्दै महासंघले विश्वकर्माको सम्मानजनक अन्त्येष्टि हुनु पर्ने जनाएको छ ।

मृतकको आर्थिक अवस्था कमजोर भएका कारण उनका परिवारलाई उचित राहत र सहयोगको व्यवस्था गर्न महासंघले नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ।

महासंघका राष्ट्रिय अध्यक्ष जेवी विश्वकर्मा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विजय घिमिरे विश्वकर्माले सगरमाथा आरोहणमार्फत व्यक्तिगत कीर्तिमान मात्र नभई सिंगो दलित समुदायको शिर उँचो बनाउने ऐतिहासिक र साहसिक कार्य गर्नुभएको छ ।’

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका-९ स्थायी घर भएका ३६ वर्षीय विश्वकर्मा दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही हुन्। यसअघि तीन पटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका उनी चौथोपटक आरोहणका क्रममा सगरमाथा क्षेत्रमा लेक लागेर बिरामी परेका थिए ।  सगरमाथाको आधार सिविरमा लैजाने क्रममा उनको निधन भएको महासंघले जनाएको छ।

सिफारिस