काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी गरेको खुलासा भएको छ।
पाण्डेले धितोपत्र ऐन, सम्पत्ति शुद्धीकरण निवारण ऐन र बीमा ऐनविपरीत सेटिङमार्फत लाइसेन्स प्राप्त गरेको आरोप लागेको हिमालयन रि-इन्स्योरेन्स लगायतका विभिन्न कम्पनीहरूमा आफ्नी छोरीको नाममा सेयर खरिद गरेको पाइएको हो। सीईओ पाण्डेकी छोरी एकता पाण्डेको नाममा हिमालयन रि-इन्स्योरेन्सको १ लाख ५० हजार कित्ता सेयर रहेको भेटिएको छ।
सेयर लगतमा उल्लेखित नागरिकता नम्बर र तीनपुस्ते विवरण भिडाउँदा उनी सीईओ पाण्डेकै छोरी रहेको पुष्टि भएको हो। धितोपत्र बोर्डको छानबिन समितिले हिमालयन रि-इन्स्योरेन्समा दिपक भट्ट र शेखर गोल्छासहितको समूहले सेटिङमा ‘उधारो सेयर’ कारोबार गरेको, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको र प्रचलित कानुनको उल्लंघन गरेको प्रतिवेदन तयार पारेको थियो। सोही विवादित कम्पनीमा ‘क’ वर्गको वाणिज्य बैंकका सीईओले छोरीको नाममा लगानी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि नै भट्ट, गोल्छा र सुलभ अग्रवाललाई पक्राउ गरेको थियो। गोल्छा अदालतको आदेशमा छुटे पनि अग्रवाल र भट्ट अझै हिरासतमै छन्।
यति मात्र नभई, न्यून आय भएका नागरिकको पहुँचका लागि स्थापित लघु बीमा कम्पनीहरूमा समेत पाण्डेले छोरीको नाममा सेयर राखेको पाइएको छ। शंकर समूहको मुख्य लगानी रहेको क्रेस्ट माइक्रो इन्स्योरेन्समा एकताको नाममा १५ हजार कित्ता र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि १५ हजार कित्ता सेयर रहेको खुलेको छ।
स्मार्टसेल प्रकरणमा पक्राउ पर्न सक्ने सम्भावना
नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी आपराधिक विश्वासघात तथा ठगी गरेको अभियोगमा सीआईबीले स्मार्टसेलका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिसकेको छ। सोही प्रकरणमा मुछिएका सीईओ पाण्डे पनि जुनसुकै बेला पक्राउ पर्न सक्ने स्रोतले जनाएको छ। पाण्डेकै सेटिङमा ३० अर्ब रुपैयाँभन्दा बढी बक्यौता नबुझाउने स्मार्टसेलको सम्पत्ति लिलामी प्रक्रिया अघि बढाइएको आरोप छ।
यस प्रकरणमा नेपाल राष्ट्र बैंकको नियामकीय कमजोरी र दूरसञ्चार प्राधिकरणका अधिकारीहरूको संलग्नताबारे समेत सीआईबीले गम्भीर छानबिन गरिरहेको छ।
यसका साथै, एनआईएमबी बैंकले आफ्नै कर्मचारी जुनु थापाको नाममा शंकास्पद रूपमा करोडौँको कारोबार गरेको र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने देखिएको छ। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीले अनियमिततामार्फत कमाएको रकम सोही बैंक र थापामार्फत परिचालन गर्ने गरेको तथ्य समेत बाहिरिएपछि सीआईबीले बैंकमाथि अनुसन्धान तीव्र पारेको छ।