हिउँभन्दा चिसो विभेद चिरेर शिखर पुगेका विजय सगरमाथाको काखमै अस्ताए: यस्तो छ- उनको संघर्षको कथा

- रीता बुढाथोकी  

नेपालको आकाशमा सगरमाथा जति अग्लो छ, त्यति नै अग्लो थियो विजय घिमिरे विश्वकर्माको सपना । तर त्यो सपना केवल आफ्ना लागि थिएन । त्यो सपना एउटा समुदायको सम्मानका लागि थियो, एउटा अपमानित इतिहासको प्रतिरोधका लागि थियो, अनि एउटा यस्तो समाज निर्माणका लागि थियो जहाँ मानिसको उचाइ जातले होइन, उसको साहस र संघर्षले नापियोस् ।

आज त्यही साहसी पात्र सगरमाथाको काखमै सधैंका लागि अस्ताएका छन् । उनको निधन केवल एउटा पर्वतारोहीको मृत्यु होइन, यो एउटा संघर्षशील युगको बिछोड हो ।

बैसाख २७ गते बिहान सगरमाथा आधार शिविर क्षेत्रमा विजय घिमिरे विश्वकर्माको निधन भएको खबरले सिंगो देशलाई स्तब्ध बनायो । चौथो पटक सगरमाथा आरोहण गरेर फर्किरहेका बेला लेक लागेर उनको मृत्यु भयो । जुन हिमाललाई उनले जीवनभर सम्मान गरे, जुन शिखरलाई उनले आफ्नो संघर्षको प्रतीक बनाए, अन्ततः त्यही हिमालको काखमा उनले अन्तिम सास फेरे । यो संयोग मात्र होइन, यो एउटा संघर्षशील जीवनको अत्यन्त मार्मिक अन्त्य हो ।

विजय घिमिरे विश्वकर्मा केवल एक पर्वतारोही थिएनन् । उनी एउटा विचार थिए । एउटा विद्रोह थिए । उनी एउटा यस्तो नाम थिए, जसले सदियौंदेखि दबाइएको दलित समुदायलाई ‘हामी पनि सक्छौं’ भन्ने आत्मविश्वास दिएको थियो । दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने उनको उपलब्धि कुनै व्यक्तिगत कीर्तिमान मात्र थिएन । त्यो विभेद र अपमानमाथिको ऐतिहासिक विजय थियो ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका गार्मा-९ मा जन्मिएका विजयको जीवन सहज थिएन । गरिबीले उनलाई बाल्यकालमै विद्यालय छोड्न बाध्य बनायो । अरू बालबालिका किताब बोकेर विद्यालय जाँदा उनी भारी बोकेर हिमाल उक्लिन्थे । सानै उमेरमा उनले जीवनको कठोर यथार्थ बुझिसकेका थिए ।

उनी त्यतीबेला उनी १६ वर्षका थिए । उनले होटलमा थुप्रै पर्यटकहरुलाई चिन्ने मौका पाए । त्यस पछि उनी पदयात्रा तिर लागे । उनको काम पदयात्रामा आउने विदेशीको भारी बोक्ने थियो । खुम्बुदेखि सगरमाथाको बेश क्याम्पसम्म बिदेशीको भारी बोकेरै उनले लगभग ५ वर्षसम्म बिताए । त्यसपछि सगरमाथाको बेस क्याम्पमा आरोहीहरुको कुक हेल्परको रुपमा काम गर्न थाले ।

झण्डै ५ वर्षसम्म हेल्परको रुपमा काम गरेका उनलाई कता-कता सगरमाथा आरोहण गर्ने रहर पलायो । रहर भएर मात्र नहुने, उनी संग सगरमाथा चढ्ने खर्च थिएन । त्यसैले उनले त्यतीबेला सगरमाथा चढ्ने हिम्मत जुटाउन सकेनन् । आर्थिक अभावका कारण उनको रहर रहरमै सिमित रह्यो ।

खुम्बु क्षेत्रमा विदेशी पर्यटकको भारी बोक्ने, खाना पकाउने, हिमाल चढ्नेहरूलाई सहयोग गर्ने काम गर्दै उनले एक दशक बिताए ।

तर उनी केवल श्रमिक भएर बाँच्न चाहँदैनथे । उनको मनभित्र एउटा आगो थियो । त्यो आगो थियो-सगरमाथा चढ्ने सपना । तर सपना देख्नु र त्यसलाई पूरा गर्नु फरक कुरा हो । आर्थिक अभाव, सामाजिक विभेद र जातीय अपमानले उनलाई पटक-पटक रोक्ने प्रयास गर्‍यो । कसैले भने, ‘दलितले सगरमाथा चढ्न हुँदैन।’ कसैले त यति सम्म भने, ‘दलितले हिमालमा टेके अनिष्ट हुन्छ ।’

यी शब्दहरू सामान्य अपमान थिएनन् । ती शब्दहरू हजारौं वर्षदेखि दलित समुदायमाथि थोपरिएको घृणाको निरन्तरता थिए । तर विजयले हार मानेनन् । उनले अपमानलाई आँसुमा बगाएनन् ।, बरु शक्तिमा बदले । उनले विभेदलाई कमजोरी होइन, प्रेरणा बनाए ।

सन् २०१५ मा उनी पहिलो पटक सगरमाथा आरोहणको तयारीमा थिए । तर त्यही बेला विनाशकारी भूकम्प आयो । सगरमाथामा हिमपहिरो गयो । धेरै आरोहीले ज्यान गुमाए । विजय आफैं पनि मृत्युको मुखबाट फर्किए । त्यसपछि केही मानिसहरूले फेरि उनलाई दोष दिए-‘दलितले हिमाल चढ्न खोजेकै कारण यस्तो भयो ।’ कति निर्दयी थियो त्यो समाज, जसले प्राकृतिक विपत्तिलाई समेत एउटा दलितको सपनासँग जोडेर हेर्ने दुस्साहस गर्‍यो ।

तर विजय विचलित भएनन् । उनले आफ्नो सपना त्यागेनन् । बरु अझ दृढ बने । अन्ततः सन् २०१७ मे २२ (२०७४ जेठ ८) मा उनले संसारकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेके । ‘देशको गौरब, मुलुकको शान, दलित समुदायको सगरमाथा आरोहण महान अभियान’ भन्ने नारा लिएर लिएर उनी बिश्वकर्मा समुदायको शान खुकुरी लिएर सगरमाथा आरोहण गरेका थिए । उनले पहिलो पटक सगरमाथामा खुकुरी गाडेर विजय मनाए ।

त्यो क्षण केवल विजय घिमिरे विश्वकर्माको जीत थिएन । त्यो सम्पूर्ण दलित समुदायको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन थियो ।

सगरमाथाको चुचुरोमा उभिएर उनले नेपालको झण्डा मात्र फहराएनन्, दलित समुदायको स्वाभिमान पनि फहराए । उनले विश्वकर्मा समुदायको प्रतीक खुकुरी सगरमाथामा गाडे । त्यो खुकुरी एउटा प्रतीक थियो । अब दलित समुदाय डराएर बाँच्ने छैन भन्ने घोषणा थियो ।

विजयको जीवनले एउटा गहिरो सन्देश दिएको थियो-मानिसको क्षमता जातले निर्धारण गर्दैन । यदि अवसर र आत्मविश्वास मिल्यो भने दलित समुदायका युवाहरू पनि संसारको सर्वोच्च शिखर चुम्न सक्छन् । उनले प्रमाणित गरिदिए कि सपनाको कुनै जात हुँदैन ।

तर विजय केवल आफू सफल भएर खुसी हुने मानिस थिएनन् । उनले आफ्नो समुदायका अरू युवालाई पनि अघि बढाउन चाहन्थे । विशेष गरी दलित महिलाहरूको अवस्था देखेर उनी पीडित हुन्थे । त्यसैले उनले एउटा दलित महिलालाई पनि सगरमाथा चढाउने सपना देखे । अन्ततः उनले ज्ञानमाला रणपाललाई प्रशिक्षण दिए र सन् २०१९ मा उनलाई सफलतापूर्वक सगरमाथा आरोहण गराए । त्यो क्षण विजयका लागि व्यक्तिगत उपलब्धिभन्दा ठूलो सामाजिक क्रान्ति थियो ।

उनले सधैं भन्ने गर्थे-‘हामीलाई समाजले निषेध गरेका सबै ठाउँमा पुग्नुपर्छ ।’ यो केवल एउटा वाक्य थिएन, यो एउटा आन्दोलनको नारा थियो । उनले सगरमाथालाई केवल हिमालका रूपमा हेरेनन् । उनले त्यसलाई सामाजिक समानताको प्रतीक बनाए ।

तर विडम्बना, यति ठूलो योगदान दिने व्यक्तिलाई राज्यले अपेक्षित सम्मान दिन सकेन । उनले पटक-पटक गुनासो गरेका थिए कि दलित समुदाय अझै पनि विभेदको पीडामा बाँचेको छ । एउटा दलितले विश्वकै सर्वोच्च शिखर चुम्दा पनि राज्यको व्यवहार बदलिएको थिएन । तर उनले कहिल्यै आफ्नो संघर्ष रोकेनन् ।
उनको जीवनको सबैभन्दा ठूलो विशेषता के थियो भने, उनी साहसी मात्र थिएनन्, अत्यन्त सहृदयी पनि थिए । उनी मिलनसार थिए, सहयोगी थिए, इमान्दार थिए । हिमालको कठोर चिसोमा पनि उनको मन न्यानो थियो । त्यसैले विदेशी पर्यटकदेखि स्थानीय शेर्पासम्म सबै उनलाई सम्मान गर्थे ।

आज जब उनी हामीबीच छैनन्, एउटा प्रश्न गहिरो गरी उठेको छ-के हामीले विजयलाई साँच्चै बुझेका थियौं? के हामीले उनको संघर्षको मूल्य बुझ्यौं ? कि केवल सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेखेर आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका छौं ?

विजयको जीवनले हामीलाई एउटा कठोर सत्य देखाएको छ-यो समाज अझै पूर्ण रूपमा समान भएको छैन । अझै पनि कतिपय मानिसहरू जातका आधारमा अपमानित भइरहेका छन् । अझै पनि धेरै विजयहरू अवसरको अभावमा जन्मिन नपाउँदै हराइरहेका छन् ।

तर विजय घिमिरे विश्वकर्माले एउटा बाटो खोलिदिएका छन् । उनले देखाइदिएका छन् कि साहस हुने हो भने इतिहास बदल्न सकिन्छ । उनी अब भौतिक रुपमा हामीबीच छैनन्, तर उनले बोकेको चेतना जीवित रहनेछ । जब-जब कुनै दलित बालकले ठूलो सपना देख्ने साहस गर्नेछ, त्यहाँ विजयको प्रेरणा हुनेछ । जब–जब कुनै युवा विभेदविरुद्ध उठ्नेछ, त्यहाँ विजयको आत्मा हुनेछ ।

उनले मृत्युलाई जितेर सगरमाथा चढेका थिए । आज मृत्युले उनको शरीर जितेको होला, तर उनको विचारलाई कहिल्यै हराउन सक्दैन । किनभने केही मानिसहरू केवल बाँचेर महान हुँदैनन्, उनीहरू संघर्ष गरेर अमर बन्छन् । विजय त्यस्तै अमर पात्र हुन् ।

सगरमाथाको हिउँमा आज पनि उनका पाइतालाहरू सुरक्षित छन् । ती पाइतालाहरूले भावी पुस्तालाई सधैं सम्झाइरहनेछन्-‘अपमान सहेर चुप लाग्नु होइन, संघर्ष गरेर शिखर चुम्नु नै जीवन हो ।’ उनले आम उत्पीडित समुदायलाई जीवन सिकाएर आफु अस्ताएका छन् ।

विजय घिमिरे विश्वकर्मा अब भौतिक रूपमा हामीसँग छैनन्, तर उनले निर्माण गरेको इतिहास, उनले जगाएको आत्मविश्वास र उनले छोडेको प्रेरणा कहिल्यै मर्ने छैन । नेपाली समाजले उनलाई केवल पर्वतारोहीका रूपमा होइन, समानताको योद्धाका रूपमा सम्झिरहनेछ ।

हार्दिक श्रद्धाञ्जली, विजय घिमिरे विश्वकर्मा ।

सिफारिस