काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित महभिर क्षेत्रमा पहिरो खस्दा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
ढुङ्गा र माटोसहितको ठूलो पहिरो खसेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको हो । सडक बन्द भएपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दासहित मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि यात्रा गरिरहेका पर्यटक र तीर्थयात्रीहरू समस्यामा परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार सडक विभागका उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट बारम्बार पहिरो झर्ने समस्या रहेको बताइएको छ । सामान्य वर्षा हुँदा समेत लेदोसहित पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।