समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता प्रक्रिया सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि समितिले आवश्यक विवरण तथा मागदाबी संकलन कार्य सुरु गरेको जनाएको छ।

समितिका अध्यक्ष तथा पूर्वन्यायाधीश डिल्लीराज आचार्यका अनुसार बचतकर्तालाई आवश्यक कागजात र विवरणसहित निवेदन पेश गर्न आग्रह गरिएको छ।

समितिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बचत फिर्ता र सरकारी वा सार्वजनिक निकायसँग सम्बन्धित सेवा सञ्चालन गर्ने जानकारी दिएको छ। सेवाग्राहीको चापलाई व्यवस्थित गर्दै प्रक्रिया प्रभावकारी बनाउन निश्चित समय तालिका लागू गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी, गुनासो व्यवस्थापन, स्टेटमेन्ट उपलब्ध गराउने लगायतका सेवा भने दिउँसो ३ बजेपछि मात्रै सञ्चालन हुने बताइएको छ। नयाँ समय व्यवस्थापनका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति समितिले क्षमायाचना गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता जनाएको छ।

समितिले स्टेटमेन्ट माग, निवेदन दर्ता, गुनासो सुनुवाइ, बचत फिर्ता सिफारिस, ऋण तथा धितोसम्बन्धी प्रक्रिया, कानुनी मुद्दा तथा सम्पत्ति रोक्का–फुकुवाजस्ता कामका लागि सम्बन्धित शाखा प्रमुख, सदस्य सचिव र पदाधिकारीलाई जिम्मेवारी तोकिएको जनाएको छ।

बचतकर्तालाई आवश्यक कागजातसहित समयमै कार्यालयमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।