काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडुले भन्ने स्थानमा बस दुर्घटना हुँदा दुईजना घटनास्थलमा मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर फर्किने क्रममा तीर्थ यात्री बोकेको ध १ ख ५०४ नम्बरको बस दुर्घटना भएको हो ।
मृत्यु हुने मध्ये दुई जना महिला रहेको पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी ८ जनालाई सन्धिखर्कस्थित जिल्ला अस्पताल र २२ जनालाई पाल्पास्थित मिसन अस्पतालमा पठाइएको अध्यक्ष न्यौपानेले बताए । उनका अनुसार ७ जनाको अवस्था गंभिर रहेको छ ।
यात्रुहरु पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपा देउराली दर्शन गर्न आएका र दर्शन गरेर फर्किँने क्रममा बसको अचानक ब्रेक फेल भई दुर्घटनामा परेको बताइएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।