काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ कोल्डाँडास्थित भित्री सडकखण्डमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस अनियन्त्रित भएर करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परी पोखरा-१९ कास्कीकी ७८ वर्षीया रोममाया बस्नेत, बस चालक मोदी गाउँपालिका ५ निवासी ४५ वर्षीय रमेश जिसी, सोही स्थानकी ५० वर्षीया बिन्दु कुँवर र ५० वर्षीया कौशिला रेग्मीको मृत्यु भएको छ ।
रोममायाको अर्घाखाँची जिल्ला अस्पतालमा मृत्यु भएको र बस चालक रमेश जिसीको पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । बिन्दु र कौशिलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर खगेन्द्र आचार्यले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ६ जनालाई थप उपचारका लागि भैरहवा पठाइएको रअन्य २१ जना घाइतेहरूको उपचार पाल्पास्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घाइतेहरूको उद्धार तथा थप विवरण संकलनको काम जारी रहेको जनाएको छ। बसमा चालकसहित करिब ३० जना सवार रहेको बताइएको छ।

