कपिलबस्तुको आधारभूत अस्पतालमा ३८ लाख बढी हिनामिना, अस्पताल र बैंकका कर्मचारीसहित ५ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा करिब ३८ लाख रुपैयाँ हिनामिना भएको प्रकरणमा अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क तथा फार्मेसी बिक्रीबाट संकलित रकम बैंकमा जम्मा गर्ने क्रममा अनियमितता भएको पाइएको हो।

प्रारम्भिक अनुसन्धानबाट १२९ थान बैंक भौचरमा उल्लेख गरिएको ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणी भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय र फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन रहेका छन्।

त्यस्तै, रकम जम्मा गर्ने प्रक्रियामा मिलेमतो गरेको आरोपमा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमल प्रसाद भण्डारी र सोही बैंकका तत्कालीन कार्यालय सहयोगी ३५ वर्षीय बिक्रम केसी लाई पनि प्रहरीले पक्राउ गरेको छ।

आर्थिक वर्ष २०८१र०८२ को आर्थिक कारोबारमा अनियमितता भएको भन्दै शिवराज नगरपालिकाले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सरकारी अस्पतालको नक्कली भौचर बनाई संगठित रूपमा ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनासम्बन्धी थप तथ्य र संलग्नता खोज्ने काम जारी रहेको प्रहरीले जनाएको छ।