काठमाडौं । काठमाडौंको रानिवन र सानोभर्याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गरि चोरीका सामान किनबेच, व्यवस्थापन र विक्री वितरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट चोरीका मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध तथा चोरीमा प्रयोग हुने औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा उदयपुरको ताप्ली गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३ एकधारामा बस्दै आएका २७ वर्षीय रमेश कुमार तामाङ र काठमाडौं महानगरपालिका–९ का २९ वर्षीय प्रभात सिंह प्रधान रहेका छन्।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा रमेश कुमार तामाङ लागुऔषध कसुरमा फरार प्रतिवादीसमेत रहेको खुलेको छ। बत्तीसपुतलीस्थित प्रभात सिंह प्रधानको घरबाट प्रहरीले ८ थान आइफोन, २ थान आइप्याड, ४ थान सामसुङ मोबाइल, १ थान सामसुङ ट्याब, डिस्प्ले परिवर्तन गरिएका २१ थान अन्य मोबाइल, २ थान म्याकबुक एअर, ५ थान एअरपोड, १ थान सिडी रिडर, ३ थान ल्यापटप तथा नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
यस्तै, नागार्जुन–एकधारास्थित रमेश कुमार तामाङको कोठाबाट ७८० क्याप्सुल ट्रामाडोल, १ थान बिलबुक, १ थान चेकबुक, चोरीमा प्रयोग हुने १ थान फलामको डन्डी, ८ थान मोबाइल, १ थान बुद्धको मूर्ति तथा चोरीका क्रममा प्रयोग भएका विभिन्न कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।