काठमाडौं । फिल्म लालीबजार को प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेकी अभियन्ता रोशनी नेपाली पक्राउ परेकी छन् । अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेको आरोपमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार सर्वोच्च अदालतमा ‘लालीबजार’ सम्बन्धी रिटमाथि सुनुवाइ भइरहेका बेला रोशनीले इजलासभित्र अवाञ्छित गतिविधि गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार उनलाई हाल सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको छ।
फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले यसअघि उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा चलचित्रले वादी समुदायको प्रतिष्ठामाथि आघात पुर्याएको तथा समुदायलाई गलत रूपमा चित्रण गरेको आरोप लगाइएको थियो। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले केही समयका लागि प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
पछि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गर्दै चलचित्र प्रदर्शनका लागि बाटो खुला गरिदिएको थियो। संयुक्त इजलासले चलचित्र रोक्न पर्याप्त आधार नदेखिएको भन्दै रिट निवेदकको माग अस्वीकार गरेको थियो।
यसै विषयलाई लिएर सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला रोशनी नेपालीले इजलासभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। अदालतमा न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो भने आदेश आउन बाँकी रहेको जनाइएको छ।