नुवाकोटमा दुई दाजुभाइ मृत फेला, हत्या भएको आशंका

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नुवाकोटमा दुई दाजुभाइ मृत फेला परेका छन्। जिल्लाको म्यागङ गाउँपालिका–४ किम्ताङ गाउँका ४१ वर्षीय सोमराज तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ मृत फेला परेका हुन् ।

उनीहरुको शव खोलाको छाँगोभित्र भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार बिहानदेखि दुई दाजुभाइ सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। त्यसपछि आज दिउँसो करिब ४ बजेतिर उनीहरूको शव फेला परेको हो।

नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार घटनाको प्रकृति हेर्दा पुरानो रिसइबीका कारण हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनले दाजुभाइमाथि गोली प्रहार गरिएको जस्तो देखिए पनि त्यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, हत्यामा संलग्न हुन सक्ने व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको डीएसपी लामाले जानकारी दिए।