काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध जारी रहेपछि संसद् बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बुधबार तेस्रो पटक सञ्चालन गरिएको बैठक पनि अवरुद्ध भएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन् ।
यसअघि दुई पटक स्थगित गरेर पुनः सञ्चालन गरिएको बैठकमा पनि प्रतिपक्षी सांसदहरूले आफ्नो अडान कायम राख्दै अवरोध जारी राखेका थिए। सभामुख अर्यालले भोलिको बैठकमा प्रधानमन्त्री शाह उपस्थित हुने तथा आफ्नो धारणा राख्ने जानकारी सदनलाई गराए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी तथा राप्रपाका सांसदहरूले संयुक्त रूपमा संसद् अवरोध गरेका हुन्।