काठमाडौँ । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न देश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन हुने व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौँको टोखा बस्दै आएका ३७ वर्षीय सागर गौतम रहेका छन्। उनले यूएई पठाइदिने भन्दै एक जनाबाट चार लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ।
यस्तै, न्युजिल्यान्ड पठाउने बहानामा १५ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दाङको घोराही उपमहानगरपालिका-१० निवासी ३२ वर्षीय शम्भु गौतम पक्राउ परेका छन्। त्यसैगरी, क्यानडा पठाइदिने प्रलोभन देखाएर २४ लाख रुपैयाँ असुलेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ की ३७ वर्षीया सनम गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलब र सहज रोजगारीको आश्वासन दिँदै उनीहरूले रकम असुल्ने गरेका थिए। रकम लिएपछि लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।