काठमाडौँ । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लाका बाल सुधारगृहहरूको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री बादीले त्यहाँको समग्र अवस्था, सेवा सुविधा तथा बालबन्दीहरूको समस्याबारे जानकारी लिएकी हुन् ।
मन्त्री बादीको सचिवालयका अनुसार पश्चिम नेपालको भ्रमणका क्रममा बाँके पुगेकी मन्त्रीले बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधारगृहको निरीक्षण गरेकी थिइन् । सो क्रममा उनले त्यहाँ रहेका बालबालिकाको अवस्था, आवश्यकता, उनीहरूले भोगिरहेका समस्या तथा चुनौतीबारे प्रत्यक्ष जानकारी लिएकी थिइन् ।
नौबस्ता बाल सुधारगृहको अनुगमनका क्रममा मन्त्री बादीले सबै कोठाहरूमा पुगेर त्यहाँको बसोबास अवस्था, ओछ्यान, खानपान, शौचालयको सुविधा तथा समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिएकी थिइन् ।
सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार मन्त्री बादीले बालबन्दीसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र अवस्थाबारे समेत बुझेकी थिइन् ।
सो अवसरमा मन्त्री वादीले बालसुधार गृहमा सीपमूलक तालिमहरू विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै बालबन्दीलाई व्यस्त र सीपयुक्त गतिविधिमा संलग्न गराउँदा सुधार प्रक्रियामा सकारात्मक प्रभाव पर्ने बताइन् । त्यसैगरी उनले डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधारगृहको पनि अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३३ जना अझै फरार रहेका छन् । उनीहरूको खोजी कार्य प्रहरीले जारी राखेको जनाएको छ ।