काठमाडौं । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार विशेष सम्मान गरेको छ। भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म आयोजित प्रतियोगितामा निश्चलले एक रजत तथा एक कांस्य पदक हात पारेका थिए। उनले यु-१५ ब्वाइज डबल्सतर्फ रजत तथा यु-१५ ब्वाइज टिम इभेन्टमा कांस्य पदक जितेका हुन्।
विद्यालयका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले संयुक्त रूपमा निश्चललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।
उक्त अवसरमा दक्षिण कोरियाको इन्चोनमा आयोजना हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुन लागेकी प्राज्ना महर्जनलाई पनि बिदाइ गरिएको थियो। निश्चल कक्षा ९ र प्राज्ना कक्षा ७ मा अध्ययनरत छन्। विद्यालयले दुवै खेलाडीलाई पूर्ण छात्रवृत्तिसमेत उपलब्ध गराएको छ।
मे २७ मा हुने प्रतियोगितामा नेपालबाट प्राज्नासहित ६ खेलाडीले सहभागिता जनाउनेछन्। टोलीमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य तथा रिभानमुनि वज्राचार्य पनि रहेका छन्। प्रतियोगिताअघि खेलाडीहरूले मे १६ देखि २६ तारिखसम्म इन्चोनमै सञ्चालन हुने याङ योङजा टेबलटेनिस मिसन इन्टरनेसनल क्याम्पमा प्रशिक्षण लिनेछन्। नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले निश्चलको उपलब्धिले विद्यालयसँगै देशकै प्रतिष्ठा उँचो बनाएको उल्लेख गरे। उनले प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्न विद्यालयले छात्रवृत्तिमार्फत सहयोग गर्दै आएको पनि बताए। साथै, उनले प्राज्नालाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिएका थिए।
भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको बताए।