सिन्धुली । निर्माण सामग्री तथा निर्माण उद्योगसँग सम्बन्धित वस्तुहरूको मूल्य अत्यधिक बढ्दै गएपछि निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग मूल्य समायोजनको माग गर्दै आन्दोलन सुरु गरेका छन्।
सिन्धुलीका निर्माण व्यवसायीहरूले हालको अवस्थामा पुरानै लागत अनुमान र दररेटमा काम गर्न असम्भव भएको बताएका छन्। उनीहरूले जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएका हुन्।
सिन्धुली निर्माण व्यवसायी संघका अध्यक्ष उद्दव प्रसाद दाहालको नेतृत्वमा व्यवसायीहरूले कालो ब्यानरसहित जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएका थिए। त्यसपछि निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
संघका अध्यक्ष दाहालका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको छ, जसले निर्माण व्यवसायीहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको छ। यस्तो अवस्थामा व्यवसायीहरूलाई कालोसूचीमा राख्ने तथा बैंक ग्यारेन्टी जफत गर्ने कार्य तत्काल रोक्नुपर्ने उनले माग गरे।
नेपाल निर्माण व्यवसायी संघ बागमती प्रदेशका सहकोषाध्यक्ष डीभी बम्जनले सरकारले समयमै मूल्य समायोजनको निर्णय नगर्दा निर्माण कार्य प्रभावित भई आयोजनाहरू तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको बताए। उनले सबै आयोजनाको म्याद थप, बजेट व्यवस्थापन, बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी दिए।
त्यसैगरी, नेपाल निर्माण व्यवसायी संघका पूर्व सदस्य जयकुमार उपाध्यायले पछिल्लो समय निर्माण व्यवसायीमाथि धरपकड र आतंक सिर्जना गर्ने गतिविधि रोक्न सरकारसँग आग्रह गरे।
विरोध कार्यक्रममा सिन्धुली निर्माण व्यवसायी संघका पदाधिकारी, सदस्य तथा दर्जनौँ व्यवसायीहरूको सहभागिता रहेको थियो। डिजेल, मट्टितेल, बिटुमिनलगायत निर्माण सामग्री, ढुवानी खर्च र श्रमिक लागतमा भएको अस्वाभाविक वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ।
ज्ञापनपत्रमा सरकारले मूल्य समायोजनसम्बन्धी ठोस निर्णय नगरे देशभर सञ्चालनमा रहेका सबै प्रकारका निर्माण आयोजनाका काम स्वतः बन्द हुने परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ।
