काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी मिल (इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रा.लि.) ले उखु किसानलाई दिनुपर्ने करिब ६ करोड रुपैयाँ भुक्तानी तीन वर्षभन्दा बढी समयदेखि रोकिरहेको पाइएको छ। उखु क्रसिङको सिजन अन्त्यतिर पुग्दा पनि उद्योगले पुरानो बक्यौता तिर्न नसकेको हो ।
चालु सिजनमा समेत उद्योग सञ्चालनमा आउन सकेको बताइएको छ । जिल्लाका अन्य चिनी उद्योगहरू सञ्चालनमा रही उखु क्रसिङ गरिरहेका बेला इन्दिरा मिल भने बन्द अवस्थामा रहेको छ। उद्योगका सञ्चालक सम्पर्कविहीन रहेको र भारतमा बस्दै आएको स्रोतको भनाइ छ।
उखु उत्पादक महासङ्घका प्रवक्ता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार उद्योग परिसरमा रहेका कच्चा पदार्थ तथा बिक्रीयोग्य सामग्री बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गर्ने प्रयास भइरहेको छ। तर हालसम्म त्यसबाट पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन। अहिले उद्योग परिसरमा बैंकका सुरक्षागार्ड मात्र रहेको बताइएको छ।
यादवले किसानको रकम फिर्ता गराउन स्थानीय तहले पहल गरिरहेको भए पनि अब सङ्घीय सरकारले नै सक्रिय रूपमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार उद्योगका जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क हुन नसक्दा समस्या झन् जटिल बनेको छ।
नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि उखु किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताए । भुक्तानी माग्न जाँदा पटक-पटक ‘भोलि’ भन्ने आश्वासन मात्र दिने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
लामो समयदेखि मेहनतको रकम नपाउँदा उखु किसानहरू निराश बनेका छन्। जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये सुनवलस्थित लुम्बिनी सुगर मिल र सुस्तास्थित बागमती खाँडसारी चिनी उद्योग भने सञ्चालनमा रहेका छन्।