काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आइएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गरेको छ । मधेश प्रदेशकै अग्रणी मेडिकल कलेजका रूपमा परिचित कलेजले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उत्कृष्टता कायम राख्दै उक्त मान्यता हासिल गरेको जनाएको छ ।
कलेजका अनुसार यो प्रमाणीकरणले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । अस्पतालको व्यवस्थापन प्रणाली, सेवा प्रवाह तथा कार्यप्रणालीको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।
आइएसओ ९००१ः२०१५ अन्तर्गत चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक लगायतका सहयोगी सेवाहरू समेटिएका छन् । अस्पतालले यसलाई गुणस्तर सुनिश्चितता, निरन्तर सुधार र मानकीकृत कार्यप्रणालीप्रतिको आफ्नो प्रतिबद्धताको प्रतीकका रूपमा लिएको जनाएको छ ।
अस्पताल व्यवस्थापनका अनुसार यो प्रमाणीकरणले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सेवाग्राही सन्तुष्टि बढाउन तथा प्रक्रिया–केन्द्रित व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ । साथै दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी ले आइएसओ प्रमाणीकरणलाई संस्थाका लागि उपलब्धिमात्र नभई गुणस्तरीय सेवा र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए । उनले बिरामीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न कलेज निरन्तर लागिपर्ने उल्लेख गरे ।
अस्पताल नेतृत्वले आइएसओ प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको जनाउँदै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर सक्रिय रहने जनाएको छ । यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज मधेश प्रदेशकै प्रमुख स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित हुने विश्वास गरिएको छ ।
