जङ्गली च्याउ खाँदा एउटै परिवारका तीन बालबालिकाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-१ कुलबाङमा जङ्गली च्याउ सेवन गर्दा गम्भीर बिरामी परेका एउटै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् ।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको जेठ १ गते घरमै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ बजे भरतपुर अस्पताल मा उपचारकै क्रममा मृत्यु भएको हो ।

गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि परिवारका सदस्यहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीनै बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

विद्यालयका अनुसार नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए । मृतक बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन् । दुई बालबालिकाको दाहसंस्कार सम्पन्न भइसकेको छ भने आज मृत्यु भएकी बालिकाको शव परिवारले बुझ्ने तयारी भइरहेको प्रधानाध्यापक मगरले जानकारी दिए ।

सिफारिस