काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिका-६ मा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनामा संलग्न रहेको आरोपमा स्थानीय २८ वर्षीय सन्दीप विकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर बालिकामाथि जबरजस्ती करणी भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। त्यसपछि शनिबार आरोपित विकलाई घटनास्थल आसपासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। साथै, स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बालअधिकार र संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया जारी रहेको जनाएको छ।