सर्वोच्च अदालतको घटनाक्रमविरुद्ध कानुन व्यवसायीहरूको लालटिन प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौं । कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित पछिल्लो घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै मंगलबार लालटिन बालेर प्रदर्शन गरेका छन्।

नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा गरिएको प्रदर्शनमा कानुन व्यवसायीहरूले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

एसोसिएसनको आइतबार बसेको बैठकले न्यायिक प्रक्रियामा अवरोध उत्पन्न भएको निष्कर्ष निकाल्दै त्यसको विरोधस्वरूप दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर “सत्य र न्यायको खोजी” का लागि सांकेतिक प्रदर्शन गरिएको जनाइएको छ।