काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक ध्रुवीकरण तीव्र भइरहेका बेला पार्टीको इतर अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस घटनालाई कांग्रेसभित्र समानान्तर शक्ति केन्द्र निर्माणको संकेतका रूपमा समेत हेरिएको छ ।
नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्कीलगायतको सक्रियतामा उक्त सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो । बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् भने शेरचन बागलुङ कांग्रेसका सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुन् । केदार कार्की कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले कार्यालय स्थापना नयाँ पार्टी गठनका लागि नभई पार्टीको १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने उद्देश्यले गरिएको बताएका छन् । उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’
श्रेष्ठका अनुसार वैशाख महिनादेखिनै सम्पर्क कार्यालय स्थापना गरेर आन्तरिक भेटघाट तथा संगठनात्मक गतिविधि अघि बढाइएको छ । नेता गुरु बरालले पनि पार्टीभित्र एकताको पक्षमा दबाब सिर्जना गर्न तथा आगामी महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन कार्यालय स्थापना गरिएको बताए । उनले भने, ‘पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेका हौं ।’
कार्यालयमा नेपाली कांग्रेसको चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा तथा खुमबहादुर खड्काका तस्वीरहरू सजाएर राखिएको छ ।
पार्टीभित्रको बढ्दो गुटगत गतिविधिका बीच खोलिएको यो सम्पर्क कार्यालयले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।