काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा गएराति आएको असिना-पानीसहितको भीषण बाढी–पहिरोले विद्यालय, खेतीयोग्य जमिन तथा गोठमा ठूलो क्षति पुर्याएको छ।
स्थानीयका अनुसार एक्कासी आएको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ भने कोदो खेती हुने धेरै खेतीयोग्य जमिनसमेत तहसनहस बनाएको छ। प्रारम्भिक विवरणअनुसार केही गोठ पनि बाढी र पहिरोले बगाएको तथा पुरिएको जनाइएको छ।
स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार बाढीले गाउँका खेतीयोग्य जमिन र गोठमा व्यापक क्षति पुर्याएको हो। वडाध्यक्ष हर्कधन तामाङले पहिरोमा गोठ पुरिए पनि हालसम्म मानवीय क्षतिको जानकारी प्राप्त नभएको बताए।
वडाध्यक्ष तामाङ तथा स्थानीय धनसिंह तामाङका गोठ पनि पहिरोले पुरिएको जनाइएको छ। घटनामा भेँडाबाख्रासमेत क्षति भएको बताइए पनि यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।
घटनापछि मेल्छाम प्रहरी चौकीको टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले क्षतिको पूर्ण विवरण आउन समय लागेको बताए। बाढी-पहिरोले क्षति पुगेको सूचना आएको र स्थानीय तथा प्रहरीमार्फत थप विवरण संकलन भइरहेको उनले बताए ।
नेप्का गाउँ दुर्गम बस्तीका रूपमा परिचित छ। यहाँ मोटरबाटो पुगेको छैन भने गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत जोखिमपूर्ण बाटो हुँदै करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।