नवलपुरमा बस दुर्घटनाः १३ यात्रु घाइते, ८ जनालाई भरतपुर रिफर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा बुधबार बिहान बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १९१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

सो बस प्र.१-०१-००१ ख ३७५९ नम्बरको अर्को बस तथा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३-००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएको र दुर्घटनापछि सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बसमा सवार ४३ यात्रुमध्ये १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइते हुनेहरूमा बर्दिया, कैलाली, बाँके, सल्यान र काभ्रेका यात्रु रहेका छन्।

घाइतेमध्ये बर्दिया बासगढी नगरपालिका-५ की ३१ वर्षीया चन्द्रकला आचार्य, उहाँकी आमा ५५ वर्षीया जोमीसरा शर्मा, २० वर्षीय सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उनकी ६ वर्षीया छोरी अनुशा तथा ३८ वर्षीय हरि दर्लामी मगर रहेका छन्।

त्यस्तै, कैलाली टीकापुर नगरपालिका-१ की ४० वर्षीया कमला दमाई, बाँके राप्तीसोनारी गाउँपालिका-५ का ४४ वर्षीय पिमा थारु, कोहलपुर नगरपालिका-११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका-३ की १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा नगरपालिका-१२ की २६ वर्षीया मुना भुजेल, तथा कैलाली घोडाघोडी नगरपालिका-१ सुखडकी २८ वर्षीया पूजा चौधरी र उनकी ७ महिनाकी छोरी क्रिसा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने अन्य घाइतेहरूको उपचार विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा भइरहेको छ।