काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पीडितहरुको उजुरीका आधारमा अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेको गरेको हो ।
पक्राउ पर्नेहरुमा मोरङ कानेपोखरी गाउँपालिका- ६ का ३७ वर्षीय नारायण जोशी, भक्तपुर मध्यपुरथिमी नगरपालिका-१ का ३२ वर्षीय नवराज पौडेल, सुर्खेत बराहताल गाउँपालिका–२ का ४३ वर्षीय गोपाल विक्रम राना र म्याग्दी मंगला गाउँपालिका-६ का ५८ वर्षीय ङवाङ लामा रहेका छन्।
नारायण जोशीले कतार पठाइदिने भन्दै १४ जनाबाट करिब ४८ लाख रुपैयाँ ठगी गरेको आरोप छ। त्यस्तै, नवराज पौडेलले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख रुपैयाँ, गोपाल विक्रम रानाले इराक पठाइदिने भन्दै ३ जनाबाट २० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ भने ङवाङ लामाले क्रोएसिया पठाइदिने भन्दै २ जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरु फरार रहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले आकर्षक तलबको प्रलोभन देखाई कतार, इराक, अष्ट्रेलिया तथा क्रोएसियामा रोजगारीका लागि पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर सम्पर्कविहीन हुने गरेका थिए। पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन तथा आधिकारिक म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
