काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पार्टीका सांसदहरूले सदनभित्र प्लेकार्ड र पर्चा प्रदर्शन गर्दै विरोध जनाएपछि सभामुख अर्यालले उनीहरूको व्यवहार सच्याउन निर्देशन दिएका हुन्।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० उल्लेख गर्दै संसद् कानुन निर्माण गर्ने सर्वोच्च थलो भएकाले विरोध पनि मर्यादित ढंगले गर्नुपर्ने बताएका थिए। उनले सांसदहरूलाई ‘मर्यादामा बसेर विरोध गर्न’ आदेशकै रूपमा निर्देशन दिएको बताएका छन्।
यसअघि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले संसद् बैठकमा “प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नुपर्छ” लगायतका नारा लेखिएका पर्चा प्रदर्शन गर्दै विरोध जनाएका थिए। उनीहरूले संसद्को वेल घेराउ गर्दै सभामुखतर्फ फर्किएर विरोध प्रदर्शन गरेका थिए।
सभामुखको चेतावनीपछि पनि केही सांसदहरूले घाँटीमा सरकारविरोधी पर्चा झुन्ड्याएर बैठकमा सहभागिता जनाएको बताइएको छ। यस घटनाले संसद्भित्र संसदीय मर्यादा र विरोधको शैलीबारे नयाँ बहस सुरु भएको छ।
उता, हर्कराज राई ले भने सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै आफ्नो पार्टीको विरोध जारी रहने संकेत दिएका छन्।