काठमाडौँ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले फिर्केखोला खोलाघरभित्र निर्माण भएका सबै स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन जारी गरेको छ।
महानगरपालिकाले वडा नं १८ को अँधेरीकुनादेखि वडा नं २, ४, ५, ७, ८, १७ हुँदै वडा नं.६ गाईघाटसम्म फैलिएको र फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने संरचनाहरूलाई लक्षित गर्दै यो सूचना जारी गरेको हो।
यसअघि महानगरपालिकाबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल (गाडिएको सीमा) भित्र पर्ने संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेको थियो। सो सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने भनी निर्णय दिएको महानगरले जनाएको छ।
त्यसपछि महानगरले मिति २०८३ बैसाख ४ मा पुनः सूचना जारी गर्दै खोलाघर भित्रका अवैध संरचना हटाउन निर्देशन दिएको थियो। सोही आधारमा पुनः सार्वजनिक सूचना जारी गर्दै महानगरले अब सबै संरचना मिति २०८३ जेठ ९ गतेभित्र स्वयं हटाउन आग्रह गरेको छ।
निर्धारित समयभित्र संरचना नहटाइएमा महानगरपालिका आफैंले हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिइएको छ।
यस निर्णयसँगै पोखरा महानगरपालिका पोखरा महानगरपालिका ले सार्वजनिक सम्पदा संरक्षण तथा खोलानालाको अतिक्रमण नियन्त्रणमा कडाइ गर्ने संकेत गरेको छ।