भारतीय जेनजीको आक्रोश: ‘साङ्ला क्रान्ति’को लहर र यसको अन्तर्य !

राजेन्द्र भट्ट  

एजेन्सी।  भारतीय राजनीति परम्परागत रूपमा ठूला व्यावसायिक रणनीति, विशाल आर्थिक लगानी र पारिवारिक एवम् व्यक्तिगत सम्बन्धको वरिपरि घुम्ने क्षेत्र मानिन्छ । जहाँ प्रशासनिक कार्य, जनसेवा र नीतिगत बहस निकै ढिलो गरी मात्र मूलधारमा प्रवेश गर्छन् । पैसा, बाहुबल र भ्रष्टाचारको प्रभुत्व रहेको भनी आलोचना गरिने यस क्षेत्रमा शिक्षित र सचेत युवा पुस्ताको प्रत्यक्ष रुचि विरलै देखिने गरेको छ । धेरैजसो युवाहरू राजनीतिक घटनाक्रमबारे केवल सचेत रहनु वा सामाजिक सञ्जालमा टिप्पणी गर्नुलाई नै आफ्नो सहभागिता मान्छन् भने पाका पुस्ताले पत्रपत्रिका र टेलिभिजनका मुख्य समाचारका शीर्षकहरू मार्फत दलहरूलाई नियाल्ने गर्छन् ।

तर, हालैका दिनमा भारतीय ‘जेन जी’   अर्थात् नयाँ पुस्तामा राजनीतिप्रति एउटा अभूतपूर्व र विस्फोटक रुचि जागेको छ । सामाजिक सञ्जालका ट्रेन्डिङ रिल्स, मीम   र भिडियोहरूदेखि दैनिक बहसहरूसम्म राजनीति अचानक युवाहरूको भान्सा र कोठामा प्रवेश गरेको छ । यो परिवर्तनको केन्द्रमा एउटा नाम छ अभिजीत दिपके, र उनको नेतृत्वमा सुरु भएको एउटा व्यङ्ग्यात्मक डिजिटल आन्दोलन- ‘ककरोच जनता पार्टी’ (CJP)

केही दिनअघिसम्म सामान्य इन्टरनेट मजाक वा ‘प्र्याङ्क’ जस्तो देखिएको यो अभियान अहिले लाखौँ भारतीय युवाको असन्तुष्टि, बेरोजगारी, परीक्षा घोटाला, राजनीतिक निराशा र सामाजिक आक्रोशको बलियो प्रतीक बनेको छ । ‘म पनि ककरोच’ (एम अल्सो अ कक्रोच) र ‘ककरोच रिभोलुसन’ जस्ता नाराहरू यतिबेला भारतका जेनजीमाझ भाइरल बनिरहेका छन् ।

 

प्रधानन्यायाधीशको टिप्पणी र आन्दोलनको प्रस्थानविन्दु

यो अनौठो र तीव्र गतिका डिजिटल आन्दोलनको सुरुवात कुनै राजनीतिक मञ्चबाट नभई भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीपछि भएको हो । मे १५ मा सर्वोच्च अदालतमा दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको बहस भइरहेको थियो । सोही क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले ‘रोजगार नपाएका र पेसामा स्थान नभएका ककरोचजस्ता युवाहरू’ सामाजिक सञ्जाल र विभिन्न गतिविधिमार्फत स्थापित प्रणालीमाथि आक्रमण गरिरहेका छन् भन्ने आशय व्यक्त गरेको आरोप लाग्यो ।

विशेषगरी बेरोजगारी, परीक्षा घोटाला र आर्थिक संकटसँग संघर्ष गरिरहेका भारतीय युवाहरूले प्रधानन्यायाधीशको उक्त अभिव्यक्तिलाई आफूहरूमाथिको चरम अपमान र संवेदनहीनताको रूपमा लिए । विवादले उग्र रूप लिन थालेपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गर्दै स्पष्टीकरणसमेत दिनुपर्‍यो । उनले उक्त टिप्पणी सम्पूर्ण भारतीय युवाप्रति नभई नक्कली डिग्री लिएर कानुनी क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूप्रति मात्र लक्षित रहेको दाबी गरे र भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’ भन्दै आफ्नो अभिव्यक्ति सच्याए ।

तर, स्पष्टीकरण आउँदासम्म ढिलो भइसकेको थियो र इन्टरनेटको दुनियाँमा एउटा नयाँ विद्रोहको बीजारोपण भइसकेको थियो ।

को हुन् अभिजीत दिपके र कसरी बन्यो पार्टी?

प्रधानन्यायाधीशको सोही भनाइलाई लिएर बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेशन  विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ३० वर्षीय भारतीय विद्यार्थी अभिजीत दिपकेले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एउटा प्रश्न गरे- ‘यदि सबै ककरोचहरू एकजुट भए भने के हुन्छ ?’

यो एउटै वाक्यले केही घण्टामै विशाल डिजिटल आन्दोलनको रूप लियो । दिपकेले भारतको सत्तारूढ दल ‘भारतीय जनता पार्टी’ (भाजपा) को नामलाई व्यङ्ग्य गर्दै ‘ककरोच जनता पार्टी’ को नाममा वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्टहरू सुरु गरे र युवाहरूलाई जोडिन आह्वान गरे ।

पेशागत रूपमा राजनीतिक सञ्चार रणनीतिका रहेका दिपकेको काम नै भाष्य निर्माण, जनसन्देश र डिजिटल प्लेटफर्मले राजनीतिक विचारलाई कसरी आकार दिन्छ भन्ने कुरामा केन्द्रित छ । उनले आफ्नो स्नातक तहको अध्ययन पुणेमा पत्रकारिता विषयमा गरेका थिए । पत्रकारिता र सञ्चारको यही पृष्ठभूमि र डिजिटल माध्यमको गहिरो बुझाइका कारण उनले युवाहरूको मनोविज्ञानलाई तुरुन्तै पक्रन सफल भए । यसअघि सन् २०२० देखि २०२३ सम्म उनले आम आदमी पार्टीको सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकको रूपमा काम गरेका थिए, जहाँ उनले सन् २०२० को दिल्ली विधानसभा चुनावका क्रममा मेममा आधारित डिजिटल अभियानको नेतृत्व गर्दै पार्टीको युवा संलग्नतालाई नयाँ उचाइ दिएका थिए । त्यही अनुभवलाई उनले सन् २०२६ मा आफ्नै फरक डिजिटल प्रयोगमा ढालेका हुन् ।

दिपकेका अनुसार भारतका युवाहरू अहिलेको परम्परागत राजनीतिक प्रणालीसँग आफूलाई जोडिएको महसुस गर्दैनन् । उनीहरू आफ्नो भाषा, हास्य, व्यङ्ग्य, निराशा र सामाजिक अनुभवलाई प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक अभिव्यक्ति खोजिरहेका छन् । “सत्तामा बसेकाहरूले नागरिकलाई ककरोच र परजीवी ठान्छन्,” दिपकेले भनेका छन्, “तर उनीहरूले बुझ्नुपर्छ कि ककरोचहरू सडेगलेका ठाउँमा जन्मिन्छन् । आज भारतको प्रणाली त्यस्तै बनेको छ ।”

कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र अभूतपूर्व लोकप्रियता

यो आन्दोलनको प्राविधिक र रणनीतिक पक्ष झनै चाखलाग्दो छ । संस्थापक दिपकेका अनुसार उनले ‘क्लाउडे’  र ‘च्याटजीपीटी’  जस्ता अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) उपकरणहरूको प्रयोग गरेर मात्र २४ घण्टाभित्र पार्टीको लोगो, घोषणापत्र, वेबसाइट र सामाजिक अभियानका सामग्रीहरू तयार पारेका थिए । यसले भविष्यमा डिजिटल राजनीतिक आन्दोलनहरू कति तीव्र गतिमा निर्माण र परिचालन हुन सक्छन् भन्ने नयाँ बहस समेत छेडिदिएको छ ।

नतिजास्वरूप, स्थापना भएको ४८ घण्टाभित्रै यसले अभूतपूर्व लोकप्रियता हासिल गर्‍यो । ककरोच जनता पार्टीले आफ्नो छुट्टै ‘पार्टी एन्थम’ (गीत) सार्वजनिक गरेको छ भने केही दिनमै यसको इन्स्टाग्राम अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर पुगेका छन् । ३ लाख ५० हजारभन्दा बढी मानिसले यसको अनलाइन सदस्यता फाराम भरिसकेको दाबी गरिएको छ । सामाजिक सञ्जालको संवादमार्फत तृणमूल कांग्रेसका सांसदहरू महुआ मोइत्रा र कीर्ति आजादलाई समेत यसले आफ्नो सदस्यको रूपमा ‘भित्र्याइसकेको’ छ ।

अल्छी र बेरोजगार’ को घोषणापत्र र अनौठो मापदण्ड

आफूलाई ‘धर्मनिरपेक्ष, समाजवादी, प्रजातान्त्रिक र अल्छी’ नारासहित प्रस्तुत गरेको यस दलले युवाहरूको भावनालाई छुने गरी पाँचबुँदे मुख्य घोषणापत्र सार्वजनिक गरेको छ, जसमा समसामयिक राजनीतिक बेथितिलाई कडा प्रहार गरिएको छ:

१. न्यायिक जबाफदेहिता: ककरोच जनता पार्टी सत्तामा आएमा कुनै पनि मुख्यन्यायाधीशलाई सेवानिवृत्ति पछिको राजनीतिक पुरस्कार स्वरूप राज्य सभाको सिट दिइने छैन ।
२. मताधिकारको रक्षा: यदि कुनै पनि वैध मत निर्वाचन सूचीबाट हटाइयो भने, सम्बन्धित निर्वाचन निकायका अधिकारीलाई कडा कानुन (UAPA) अन्तर्गत पक्राउ गरिनेछ, किनकि नागरिकको मतदानको अधिकार खोस्नु आतंकवाद भन्दा कम होइन ।
३. महिला प्रतिनिधित्व: महिलाहरूका लागि राज्यका हरेक तहमा ५० प्रतिशत आरक्षण सुनिश्चित गरिनेछ ।
४. सञ्चार माध्यमको स्वतन्त्रता: प्रभावशाली व्यवसायी वा कर्पोरेट घरानाको पूर्ण स्वामित्वमा रहेका र पार्टीगत स्वार्थ बोकेका सबै मिडिया हाउसहरूको इजाजतपत्र रद्द गरिनेछ ।
५. दलबदल विरोधी कानुन: एउटा पार्टीबाट निर्वाचित भएर अर्को पार्टीमा दल परिवर्तन गर्ने कुनै पनि विधायक वा सांसदलाई २० वर्षसम्म चुनाव लड्न वा सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइनेछ ।

यस पार्टीको सदस्य बन्नका लागि तोकिएका योग्यताका मापदण्डहरू झनै व्यङ्ग्यात्मक र ‘जेनजी’ पुस्ताको जीवनशैलीसँग मेल खाने खालका छन्:

  • बेरोजगार: बाध्यताले, इच्छाले वा सिद्धान्तले बेरोजगार हुनुपर्ने ।

  • अल्छी: शारीरिक रूपमा अल्छी तर दिमाग भने निरन्तर तीव्र गतिमा चलिरहने (Spiraling) हुनुपर्ने ।

  • क्रोनिकल्ली अनलाइन: शौचालयको विश्राम सहित दिनमा कम्तीमा ११ घण्टा लगातार इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय रहने ।

  • व्यावसायिक आक्रोश (Professional Ranting): समाजका वास्तविक र अर्थपूर्ण मुद्दाहरूमा प्रस्ट, इमानदार र धारिलो तरिकाले आक्रोश पोख्न सक्ने क्षमता भएको हुनुपर्ने ।

गम्भीर राजनीतिक संकटको उपज

पछिल्ला महिनाहरूमा भारतमा विभिन्न सरकारी र प्रवेश परीक्षाहरू (विशेषगरी ‘निट’ पेपर लिक प्रकरण) मा भएका ठूला घोटालाहरूले विद्यार्थी र युवामाझ चरम निराशा पैदा गरेको छ । ककरोच जनता पार्टीले यस मुद्दामा शिक्षा मन्त्रीको राजीनामा माग गर्दै सामाजिक सञ्जालमा कडा पोस्टहरू गरेको छ: “विद्यार्थीहरू आत्महत्या गरिरहेका छन्, अब जवाफदेहिता सुनिश्चित गर्नुपर्छ ।”

भारत अहिले विश्वकै सबैभन्दा धेरै युवा जनसंख्या भएको देश हो, जहाँ हरेक वर्ष ८० लाखभन्दा बढी स्नातकहरू उत्पादन हुन्छन् तर शिक्षित युवाहरूमा बेरोजगारीको दर अत्यन्तै उच्च छ । यही असन्तुष्टिको जगमा यो पार्टीले व्यापक जनसमर्थन पाइरहेको छ ।

भारतका चर्चित राजनीतिक विश्लेषक तथा युट्युबर मेघनाद एसले यस आन्दोलनलाई “मजाकबाट जन्मिएको गम्भीर राजनीतिक टिप्पणी” भनेका छन् । उनका अनुसार युवाहरू परम्परागत राजनीतिक दलभन्दा बाहिर वैकल्पिक राजनीतिक प्रयोग खोजिरहेका छन् र यो पार्टी वास्तविक नभए पनि मानिसहरूले यसलाई वास्तविक राजनीतिभन्दा उत्तम विकल्प ठानिरहेका छन्, जुन आफैँमा स्थापित राजनीतिमाथिको सबैभन्दा ठूलो व्यङ्ग्य हो ।

त्यस्तै, पूर्वसरकारी कर्मचारी आशिष् जोशीले भारतमा पछिल्लो दशकमा डर र घृणाको वातावरण बनेको टिप्पणी गर्दै ककरोच जनता पार्टीलाई ‘ताजा हावाजस्तै’ मानेका छन् । “ककरोचहरू सजिलै मर्दैनन्, तिनीहरू जुनसुकै परिस्थितिमा पनि बाँचिरहन्छन् र अब उनीहरूले प्रणालीमाथि नै कब्जा गर्न खोजिरहेका छन्,” उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय सन्दर्भ र भावी दिशा

यस आन्दोलनको उदयलाई धेरै विश्लेषकहरूले हालैका वर्षहरूमा श्रीलंका, नेपाल र बंगलादेशमा देखिएका युवा तथा ‘जेनजी’ नेतृत्वका राजनीतिक विद्रोहहरूसँग तुलना गर्न थालेका छन् । यद्यपि, संस्थापक दिपके भने भारतमा चरम अराजकताको अवस्था नआउनेमा विश्वस्त छन् । उनका अनुसार भारतीय युवाहरू राजनीतिक रूपमा परिपक्व र सचेत छन् र उनीहरूले आफ्नो असन्तुष्टि लोकतान्त्रिक, शान्तिपूर्ण तरिकाले तर नयाँ डिजिटल भाषा (मीम र व्यङ्ग्य) मार्फत व्यक्त गरिरहेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नर्वे भ्रमण र त्यहाँ एक नर्वेजियन पत्रकारले भारतमा प्रेस स्वतन्त्रता र पत्रकार सम्मेलन नगर्ने विषयमा सोधेको प्रश्नमा सिधा जवाफ नआएको विषयले पनि सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ । यस्ता राजनीतिक घटनाक्रम, बढ्दो ध्रुवीकरण र लोकतान्त्रिक जबाफदेहिताको कमीले नै ककरोच जनता पार्टीजस्ता व्यङ्ग्यात्मक आन्दोलनलाई उचाइमा पुर्‍याउन मलजल गरेको देखिन्छ ।

यो पार्टी हालसम्म औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छैन र यसको कुनै परम्परागत संगठन पनि छैन । तर, यसले उठाएका मुद्दा र युवाहरूलाई आकर्षित गर्ने यसको डिजिटल शैलीले के प्रस्ट पार्छ भने, यसलाई केवल इन्टरनेटको एउटा क्षणिक ठट्टा मानेर बेवास्ता गर्न मिल्दैन । दिपकेले भनेका छन्, “धेरै लामो समयदेखि भारतमा मानिसहरू चुप थिए, अब यो क्षणलाई जिम्मेवारीका साथ लिनुपर्ने बेला आएको छ, यसलाई केवल मजाक भनेर छोड्न मिल्दैन ।”

यो आन्दोलन भारतमा विकसित भइरहेको नयाँ डिजिटल राजनीतिक प्रतिरोधको एउटा बलियो र दूरगामी संकेतको रुपमा हेरिंदै छ ।