सीआईबीको छानबीनमा तानिए मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धर : १ सय ५० करोड अपचलनको खुलाशा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रभु बैंकमा भएको अर्बौं ऋण अपचलन तथा बैंकिङ कसुर गरि अपराध गरेको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेका छन् । तत्कालिन सिइओ अशोक शेरचन, अध्यक्ष देवि भट्टचन लगायत उच्च अधिकारी पक्राउ परि शक्तिको आडमा छुटेपनि अनुसन्धान भने रोकिएको छैन ।

विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको प्रमुख फेरिएसँगै यो अनुसन्धानले तिब्रता पाएको छ । पछिल्लो समय प्रभु बैंकबाट भएको ऋण अपचलनमा अर्को एक विकास बैंकका सीईओपनि छानबीनको दायरामा आएका छन् । हाल मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका तारा मानन्धरमाथि सीआईबीले छानबीन थालेको हो । विशेषगरि जानकी मेडिकल कलेजको नाममा भएको १ सय ५० करोड ऋण अपचलनमा माननन्धरको संलग्नता रहेको छ । सीईओ शेरचन र तत्कालिन अध्यक्ष देवि भट्टचनको मिलेमतोमा बैंकको करोडौँ रकम अपचलन गरेको अभियोग छ । सोही अपचलनमा मानन्धर समेत कुनै समय प्रभु समुहमा थिए । ऋण अपचलनमा संलग्न रहेको पाइएपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको उच्च स्रोतले दियोपोस्टलाई बतायो ।

धनुषाको रमदैयामा अवस्थित जानकी मेडिकल कलेजका नाममा रकम अपचलनमा संलग्न मानन्धर विशेषगरि बेलायतस्थित प्रभु समुहसँग मिलेर हुण्डी लगायतको अवैध गतिविधिमा रहेको स्रोतले बताएको छ । उनले बेलायतबाट यस्तो अवैध धन्दा गर्न प्रभु बैंकको प्रतिनिधिको रुपमा काम गरेको समेत कागजात फेला परेको छ । राम जानकी हेल्थ फाउन्डेशन प्रा.लीको नाममा कम्पनि दर्ताको रकर्डमा रहेको छ ।

 

राम जानकी हेल्थ फाउन्डेशनका तत्कालिन अध्यक्ष ओम प्रसाद पाण्डे लगायतका अधिकारी विभिन्न ठगी मुद्दामा फरार छन् । उनी विरुद्ध करोडौँ रुपैयाँको बैंकिङ कसुरको अपराधमा मुद्दा दर्ता भएको छ ।

कम्पनि रजिष्टार कार्यालयको रेकर्ड अनुसार धन बहादुर शेरचन, हरिकृष्ण भट्टचन र हरिमान लामा लगायतको समुहले जानकी मेडिकल कलेजको नाममा शेयर किनेका थिए । धन बहादुर कुनै समय देविकै आफन्त हुन । कम्पनि रजिष्टारको रेकर्ड अनुसार २०७२ साल जेठ २२ मा हरिमान लामा, हरिकृष्ण भट्टचन र धन बहादुर शेरचन अर्थात डिबी शेरचनको नाममा शेयर खरिद भएको थियो । डिबी र देवि दुवै मिलेर कुनै समय ग्लोबल आईएमई बैंक समेत खोलेका थिए ।

हरिमानको नाममा १६ लाख थान शयर देखिन्छ । भट्टचनको नाममा २९ लाख ५० हजार ८ सय ६० कित्ता शेयर देखिन्छ । उनले यो शेयर खरिद गरेबापत २९ लाख ५० हजार ८ सय ६० रुपैयाँ नै रकम बुझाएको रेकर्डमा उल्लेख छ । यद्धपी हरिमानले भने सोही शेयरबापत १६ करोड रुपैयाँ चुक्ता गरेको उल्लेख छ ।

तर, हरिमान त्यस्ता पात्र हुन् जसले नागरिक उडयन प्राधिकरणलाई नै २३ करोड रुपैयाँ तिर्न नसकेर फरार छन् । उनले प्राधिकरणको त्रिभुवन विमानस्थल कार्यालयलाई दिएको ७ करोड रुपैयाँ बराबरको चेक नै बाउन्स भएपछि प्रहरीको ‘फरार’ सुचीमा छन् ।

हरिमान लामा र उनका भाई गणेशमान लामा ठगी मुद्दामा फरार भएपछि पछिल्लो समय फेरी जानकी मेडिकल कलेजको शेयर ओम प्रसाद पाण्डे ‘ओपी’ लगायत समुहको नाममा हस्तान्तरण गरिएको छ ।

 

जनकपुरका प्रसिद्ध डाक्टर रामानन्दन सिन्हाको नेतृत्वमा वि.सं. २०६० सालमा सञ्चालन गरिएको थियो जानकी मेडिकल कलेज (जेएमसी) । २०७१ सालमा पठनपाठन नभएको भन्दै विद्यार्थीले सामूहिक रूपमै सञ्चालक ओम प्रकाश पाण्डेलगायत विरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

कलेजले अग्रिम शुल्क लिएर शर्तबमोजिम चिकित्सा विद्यार्थीलाई पठनपाठनको बन्दोबस्त मिलाउन नसकेपछि विद्यार्थीले महिनौँ आन्दोलन गरे । अन्त्यमा सञ्चालक समितिका सदस्यलाई स्थानीय प्रशासनले पक्राउ गरेको थियो ।

पक्राउ पछि उनीहरुले क्षतिपूर्ति तिरेका थिए । उनै पाण्डेले जानकीको शेयर हरिमान लामा, गणेशमान लामा, धनबहादुर शेरचन र हरिकृष्ण भट्टचन लगायत समुहको नाममा शेयर बेचेका थिए ।

उनीहरु कलेजको नेतृत्वमा आएपछि नै बैंकबाट डेढ सय करोड ऋण निकालिएको थियो । तर, ऋण निकालेपछि कलेजको सुधार गर्नेतिर भन्दा पनि शुल्क असुली तिरै शेयरधनीहरु लागेका थिए । कर्मचारीलाई समेत १५ महिना सम्म तलब भत्ता नदिएपछि आन्दोलन र अमरण अनसन बसेका थिए ।

आफन्तको नाममा ऋण देखिएपछि राष्ट्र बैंकले छानबीन थालेको थियो । छानबीनकै क्रममा प्रभुका सिइओ अशोक शेरचनका आफन्तहरु नाटकीय ढंगबाट शेयर बेचेर बाहिरिएका छन् । आश्चर्य त के भने ठगी मुद्दा खेपेका तत्कालिन ओम प्रसादले नै सबै शेयर खरिद गरेका छन् ।

कलेजको बेथितिकै कारण कारबाहीस्वरूप नेपाल मेडिकल काउन्सिलले दुई वर्षसम्म जेएमसीलाई शुन्य कोटा दिएको थियो । नेपाली विद्यार्थीले पढ्न छाडेपछि भारतीय विद्यार्थी भर्ना गरेर कलेज सञ्चालन गरिएको छ ।