सिकेन्द्र पासवान
कलैया । नागरिकलाई न्याय र सुरक्षा प्रदान गर्ने जिम्मेवारी बोकेको प्रहरीले नै पीडितलाई उल्टै दुख दिने काम गर्छ भने सर्वसाधारण जनताले कसलाई बिस्वास गर्ने ? यतिबेला बारामा यस्तै भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेशराज भट्टले न्याय सम्पादनका नाममा पीडितलाई नै थप पीडा दिने र अत्याचार गर्ने गरेको गम्भीर आरोप लागेको हो ।
कलैया उपमहानगरपालिका-१७ निवासी फुलचन रामको परिवारमाथि भएको सामूहिक कुटपिटको घटनामा प्रहरीले उल्टै पीडितलाई नै हिरासतमा राखेको, महागढीमाई नगरपालिका-१० का प्रदीप जैसवालमाथि भएको कुटपिटको घटनामा पीडकलाई पक्राउ नगरिएको लगायतका आरोपहरु लाग्दै आएका छन् ।
फुलचन रामको परिवारका पाँच जना सदस्यमाथि सामूहिक कुटपिटको घटनामा दोषीलाई कारबाही नगरी उल्टै पीडित पक्षविरुद्ध मुद्दा दर्ता गरी २५ दिनसम्म हिरासतमा राखेको घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाइएको हो ।
स्थानीयवासीहरूले प्रहरी प्रधान कार्यालयको ‘मुस्कानसहित सेवा’ भन्ने नारासँग व्यवहार मेल नखाने अवस्था देखिएको बताएका छन्। उनीहरूका अनुसार सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने, धम्की दिने, अनावश्यक रूपमा हिरासतमा राख्ने र मुद्दा मिलापत्र गर्न दबाब दिने प्रवृत्तिले नागरिकमा असुरक्षाको भावना बढेको भन्दै बिरोध गरेका छन् ।
यस्तै, प्रदीप जैसवालमाथि भएको कुटपिट घटनामा मेडिकल रिपोर्टले आँखाको रेटिनामा क्षति देखाए पनि आरोपितलाई पक्राउ नगरिएको पीडित पक्षको आरोप छ। उनीहरूले प्रहरीबाट ‘मुद्दा मिलाउन’ दबाब आएको दाबी गरेका छन्।
सिम्रौनगढ नगरपालिका-९ की १३ वर्षीया बालिका अंशु कुमारी हराएको घटनामा परिवारले अपहरणको आशंकासहित जाहेरी दिएको भए पनि प्रहरीले आवश्यक संवेदनशीलता नदेखाएको आरोप लागेको छ। महिला अधिकारकर्मी सरस्वती सिंहका अनुसार पीडित परिवारले छोरीको खोजीका लागि आग्रह गर्दा उल्टै दबाब र दुर्व्यवहारको सामना गर्नुपरेको थियो।
प्रहरी निरीक्षक भट्टले माथिल्लो निकायमा गुनासो नगर्न चेतावनी दिने गरेको पीडित परिवारको आरोप छ । उनीहरूका अनुसार ‘एसपी कहाँ गयौ भने राम्रो हुँदैन’ भन्ने प्रकारका धम्कीसमेत दिइएको थियो।
वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठले यस्ता आरोपहरूले प्रहरी संगठनप्रतिको जनविश्वासमा असर पार्न सक्ने बताए । यसैबीच नागरिक समाजका प्रतिनिधिहरूले प्रहरी निरीक्षक भट्टको जीवनशैली र सम्पत्तिबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सरकारी सेवाबाट प्राप्त आम्दानीसँग जीवनशैली मेल खान्छ कि खाँदैन भन्ने विषयमा सार्वजनिक चासो बढेको उनीहरूको भनाइ छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँर तथा मधेस प्रदेश प्रहरी प्रमुख उमाशंकर चतुर्वेदीले छानबिन गरिने र दोषी देखिए कानुनी प्रक्रिया अनुसार कारबाही गरिने बताएका छन्।
उता प्रहरी निरीक्षक भट्टले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। यद्यपि पीडित परिवार, नागरिक अगुवा र अधिकारकर्मीहरूले निष्पक्ष तथा पारदर्शी अनुसन्धानको माग जारी राखेका छन्।