दिब्येश्वरी तेक्वान्दो डोजाङको ग्रेडिङमा ७ खेलाडीलाई डबल प्रोमोसन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दिब्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङ कार्यक्रममा ७ जना खेलाडीले डबल प्रोमोसन प्राप्त गरेका छन्। डबल प्रोमोसन पाउने खेलाडीहरूमा अन्जलीकुमारी यादव, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण, रुपा कर्ण र दिपिशा खड्का रहेका छन्।

उनीहरूमध्ये अशोक कर्ण र रुपा कर्ण दम्पती हुन्। उनीहरूका दुई छोरी अनुष्का र अनुपमा पनि अभिभावकसँगै दिब्येश्वरी डोजाङमै नियमित प्रशिक्षण लिइरहेका छन्। बिग मार्ट केन्द्रीय कार्यालयका चिफ टेक्निकल अफिसर रहेका अशोक कर्णले बच्चाको प्रशिक्षणका क्रममा डोजाङमा समय बिताउँदा आफू पनि तेक्वान्दोप्रति आकर्षित भई अभ्यास सुरु गरेको बताए। उनले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरे।

नेत्र श्रेष्ठ लेखा सम्बन्धी पेशामा आबद्ध छन् भने उज्ज्वल घिमिरे कानून व्यवसायी हुन्। दिपिशा खड्का हाल ट्रिटन कलेजमा स्नातक अध्ययनरत छन्। उनले यसअघि ग्लेसियर इन्टरनेसनल कलेजमा प्लस टु तहमा म्यानेजमेन्ट विषयमा कलेज टप गरेकी थिइन्।

एकदिने ग्रेडिङ कार्यक्रममा दिब्येश्वरी र गोठाटार तेक्वान्दो डोजाङका गरी ४५ खेलाडी सहभागी भएका थिए। डबल प्रोमोसन पाउने सबै खेलाडी दिब्येश्वरी डोजाङका हुन्।

नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका प्रेमबहादुर भण्डारी, जो दुवै डोजाङका अध्यक्ष हुन्, उनले दुवै डोजाङ स्थापना गर्न करिब ६० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। उनका अनुसार तेक्वान्दो नेपाललाई सर्वाधिक पदक दिलाउने खेल भएकाले यसलाई घरघरमा पुर्‍याउने उद्देश्यसहित डोजाङ विस्तार गरिएको हो।

उनले राज्य मात्र होइन, व्यक्तिको इच्छाशक्तिबाट पनि खेलकुद विकास सम्भव हुने बताए। कार्यक्रममा मध्यपुर थिमि नगरपालिका-२ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष इन्द्रभक्त चित्रकारलगायतले खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए। १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता नीता गुरुङले ग्रेडिङ सञ्चालन गरेकी थिइन्।