काठमाडौँ । पोखरा महानगरपालिका-१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै सामाजिक सन्देश प्रवाह गरेका छन्। उनले यौन हिंसा, बलात्कारपछि हत्या तथा जातीय विभेदविरुद्ध न्यायको माग गर्दै शिखरमा विशेष ब्यानर प्रदर्शन गरेका हुन्।
उनले ७ जेठ २०८२ को बिहान १२ः१६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । परियार यसपटक केवल व्यक्तिगत उपलब्धिका लागि होइन, सामाजिक चेतना फैलाउने उद्देश्यसहित आरोहण यात्रामा निस्किएका थिए। उनका अनुसार बढ्दो यौनजन्य हिंसा, बलात्कार तथा त्यसपछि हुने हत्याका घटनाविरुद्ध विश्वको सर्वोच्च स्थानबाट आवाज उठाउने लक्ष्य रहेको थियो।
समय अभावका कारण आवश्यक प्रायोजन जुटाउन नसकेपछि उनले आफ्नै खर्चमा आरोहण यात्रा पूरा गरेका थिए। यात्राका क्रममा उनले विभिन्न समयमा बलात्कारपछि हत्या गरिएका पीडितहरूको तस्बिर समेटिएको ब्यानर साथमा लगेका थिए।
परियारले सामाजिक सञ्जालमार्फत सरकारमाथि दबाब सिर्जना गर्ने प्रयाससमेत भइरहेको बताएका छन्। ब्यानरमा बलात्कारपछि हत्या गरिएका सलिना पोखरेल, इनिसा बिक, अंशु गौतम, निर्मला पन्त, भागरथी भट्टराई, रश्मि परियार, अहिरा पाशी र माया बिकलगायत पीडितहरूको तस्बिर समावेश गरिएको थियो, जसलाई सगरमाथाको शिखरबाट सार्वजनिक गर्ने योजना उनले बनाएका थिए।
दलित समुदायबाट आएका परियारले बाल्यकालदेखि नै सामाजिक तथा जातीय विभेदको अनुभव गरेको बताउँछन्। जाजरकोटदेखि हालै सिन्धुलीको खुर्कोटसम्म भएका घटनाले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उनको भनाइ छ।
उनका अनुसार सरकारले दलित समुदायप्रति प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा अपेक्षित सुधार अझै देखिएको छैन। त्यसैले उनले यौन हिंसाविरुद्ध मात्र नभई लामो समयदेखि कायम जातीय विभेदविरुद्ध पनि सगरमाथाबाट सशक्त सन्देश दिने प्रयास गरेका हुन्।
को हुन् अमृत परियारः
गरिबी र अभावबीच गाउँमै हुर्किएका अमृत परियार सानैदेखि मेहनती र साहसी स्वभावका थिए। एसएलसीमा उत्कृष्ट नतिजा हासिल गरेपछि उनी उच्च शिक्षाका लागि पोखरा पुगे।
पोखरास्थित पृथ्वी नारायण क्याम्पसमा विज्ञान तथा प्रविधि अध्ययनका क्रममा उनले कान्तिपुर डेन्टल कलेजमा अध्ययन गर्ने अवसर पाए। तीनवर्षे डेन्टल डिप्लोमा पूरा गरेपछि केही समय क्लिनिकमा काम गरे।
आफ्नै क्लिनिक सञ्चालन गर्ने इच्छा भए पनि आर्थिक सीमितताका कारण त्यो योजना अघि बढ्न सकेन। त्यसपछि पारिवारिक जिम्मेवारी वहन गर्दै उनी अमेरिका गए र हाल त्यहीँ बसोबास गर्दै आएका छन्।