काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा एफएसडी फिल्मसको प्रस्तुतिमा तयार गरिएको गीत तथा यसको भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक भएलगत्तै गीतले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको जनाएको छ। गीतमा शब्द बियोन्ड स्वयंले लेखेका हुन् भने संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन्। आधुनिक संगीत शैली र रोमान्टिक भावनाको संयोजन रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले अभिव्यक्त गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।
गीतको भिडियो निर्देशन पी माधवले गरेका हुन्। भिडियोमा कलात्मक दृश्य संयोजन र आकर्षक प्रस्तुतिलाई प्राथमिकता दिइएको छ। कोरियोग्राफर दिपिका तामाङको प्रस्तुति तथा नृत्य संयोजनले भिडियोलाई थप प्रभावशाली बनाएको छ। भिडियोमा बियोन्डसँगै मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया आएको छ।
प्राविधिक पक्षमा पनि भिडियो सशक्त देखिएको निर्माण पक्षको दाबी छ। भिडियोका डिओपी विवेक मगर रहेका छन् भने छायांकन योन्जनले गरेका हुन्। सम्पादन सोवित मगरले गरेका छन्। दृश्य, रंग संयोजन र सम्पादन शैलीले गीतलाई समकालीन शैलीमा प्रस्तुत गरेको देखिन्छ।
सार्वजनिक कार्यक्रममा कला, संगीत तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पुनम अग्रवालको सभापतित्व तथा हाकिमको प्रमुख आतिथ्यता रहेको थियो। वक्ताहरूले नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताले सिर्जनात्मक र गुणस्तरीय काम गरिरहेको उल्लेख गर्दै ‘झिम झिम’ले पनि दर्शकमाझ विशेष स्थान बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ शैलीको सिर्जनालाई निरन्तरता दिने बताए। दर्शक तथा स्रोताबाट प्राप्त साथ र प्रतिक्रियाले आफूलाई थप प्रेरित बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नयाँ सिर्जनासहित उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक भएको ‘झिम झिम’ गीत तथा भिडियो हाल विभिन्न डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिनेछ। शब्द, संगीत, अभिनय र दृश्य प्रस्तुतिको संयोजनले यसलाई समकालीन नेपाली संगीत बजारको आकर्षक प्रस्तुतिका रूपमा हेरिएको छ।