काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला क्षेत्रको खोलाघर अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। आइतबारदेखि सुरु भएको अभियानअन्तर्गत दुई दिनभित्र ५१ वटा संरचना भत्काइएको महानगरले जनाएको छ।
महानगरका अनुसार वडा नम्बर १८ र २ को सीमाक्षेत्रमा ६ वटा, वडा नम्बर ४ र ५ मा ९ वटा तथा वडा नम्बर ८ मा रहेको राधाकृष्ण सामुदायिक भवनसहित १५ वटा संरचना हटाइएको छ। बाँकी संरचनाहरू अन्य प्रभावित क्षेत्रमा हटाइएको जनाइएको छ।
संरचना हटाउनका लागि ३ वटा जेसीबी र २ वटा एक्स्काभेटर परिचालन गरिएको बताइएको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र प्राविधिकसहित ४ सय ३४ जना जनशक्ति अभियानमा खटिएका छन्।
अभियानका क्रममा भत्काइएका संरचनाबाट निस्कने भग्नावशेषले खोलाको बहाव अवरुद्ध हुन सक्ने विषयमा स्थानीयस्तरमा चासो व्यक्त गरिएको छ। यसप्रति ध्यान दिँदै महानगरले अधेरीकुनाबाट प्राविधिक टोली र एक्स्काभेटरसहित छुट्टै व्यवस्थापन टोली परिचालन गरेको जनाएको छ।
मेयर धनराज आचार्यका अनुसार भग्नावशेषले खोलाको प्राकृतिक बहावमा अवरोध पुर्याए तत्काल हटाएर खोला खुला राख्ने व्यवस्था मिलाइएको छ।
महानगरले फिर्के खोलाको खोलाघर पूर्ण रूपमा खाली भएपछि यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ। योजनाअनुसार यहाँ साइकल लेन, फुटपाथ, हरियाली प्रवर्द्धन तथा आधुनिक प्रकाश व्यवस्थासहित सुरक्षित करिडोर निर्माण गरिने बताइएको छ।