काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी गरिएको पक्राउ पुर्जीलाई निष्क्रिय गर्दै तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न आदेश दिएको हो ।
पक्राउ पुर्जी जारी गर्दा प्रचलित कानुनले तोकेको प्रक्रिया र ढाँचा पालना भएको नदेखिएको उल्लेख गरिएको छ। अदालतले यस कारण जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति स्वतः निष्क्रिय भएको व्याख्या गरेको छ।
यो आदेश देउवा दम्पतीको तर्फबाट दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइपछि आएको हो। सर्वोच्चले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान गरिएका मुद्दाको क्षेत्राधिकार विशेष अदालतसँग सम्बन्धित हुने कानुनी व्यवस्था पनि औँल्याएको छ। त्यसै आधारमा काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीमाथि प्रश्न उठाइएको हो।
यसअघि जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरिएको थियो। तर सर्वोच्चको पछिल्लो अन्तरिम आदेशसँगै उक्त पुर्जीका आधारमा पक्राउ प्रक्रिया अघि बढाउन नपाइने भएको छ।