काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको खिचापोखरी क्षेत्रबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति ललितपुर महानगरपालिका-८ निवासी ३२ वर्षीय नवीन खड्का रहेको प्रहरीले जनाएको छ। उनी सम्बन्धित पसलका सञ्चालकसमेत हुन्।
विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो। त्यसपछि काठमाडौं महानगरपालिका-२२ स्थित खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल तथा सोही कम्प्लेक्सको अर्को भवनमा रहेको भेपमान्डु ट्रेडर्स प्रा.लि.को गोदाममा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा विभिन्न कम्पनीका बिल नभएका २८ हजार ५०० थान भेप बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले बरामद सामग्रीको बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबर रहेको जनाएको छ।