काठमाडौँ । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-४ बरईपुरस्थित तौलिहवा-बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान दुर्घटनामा परेको छ। बिहान करिब ३ः५५ बजे कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिँदा ३८ जना यात्रु घाइते भएका हुन्।
दुर्घटनापछि सुरक्षाकर्मी र उद्धार टोलीले घाइतेहरूको तत्काल उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचारका लागि पुर्याएका थिए। उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको बताइएको छ। गम्भीर घाइतेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन्। दुर्घटनामा बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढालगायत अन्य यात्रुहरू पनि घाइते भएका छन्।
प्रहरीका अनुसार १२ जना घाइतेलाई प्रहरीको सवारीमार्फत र बाँकीलाई एम्बुलेन्स प्रयोग गरेर अस्पताल पुर्याइएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।