काठमाडौं । काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु-१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा सम्पन्न फाइनल खेलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक एन्जल्स हार्ट माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्यो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एन्जल्स हार्टले समृद्धिलाई ४-२ गोलले हरायो।
व्यक्तिगत विधातर्फ काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी घोषित भए भने काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक बने। त्यसैगरी, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता घोषित भए। समृद्धिले उदीयमान टिमको उपाधि प्राप्त गर्यो।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई जुनियर फुटबल एकेडेमीका संस्थापक तथा हेड कोच प्रज्ज्वलप्रताप क्षेत्री, एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा तथा प्रतियोगिता संयोजक सुमन तिमल्सिनालगायतले पुरस्कार वितरण गरेका थिए।
फाइभ-ए–साइड ढाँचामा आयोजित एकदिने प्रतियोगितामा आठ टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गरेका थिए।