काठमाडौँ । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई १५ दिनभित्र घर खाली गर्न अन्तिम सूचना जारी गरेको छ। महानगरले मंगलबार सूचना जारी गर्दै ‘ग्यालेक्सी फोर के’ टेलिभिजनसम्बन्धी सरसामान लिएर भवन खाली गर्न महानगरले निर्देशन दिएको हो।
जारी सूचनामा काठमाडौँ महानगरपालिका वडा नं.३ निवासी वादी मृगेन्द्र प्रसाद मिश्र र प्रतिवादी गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईबीचको भाडा असुल उपर गरी घरजग्गा खाली गराउन आग्रह गरिएको छ ।
सो मुद्दामा काठमाडौँ महानगरपालिकाको न्यायिक समितिले मिति २०८१ कात्तिक १४ गते वादीको दाबीअनुसार बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो। उक्त निर्णयपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो।
महानगरका अनुसार अदालतको आदेशअनुसार २०८२ कात्तिक १४ गते कार्यालयबाट डोर खटाई निर्णय कार्यान्वयन गरिएको थियो। तर निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भइसकेकाले वादी मृगेन्द्र मिश्रले ‘ग्यालेक्सी फोर के’मा रहेका सामान लिलाम गर्न २०८३ वैशाख २१ गते निवेदन दिएका थिए।
सोही आधारमा महानगरले यो सूचना जारी गर्दै घरधनीलाई बुझाउनुपर्ने बाँकी बहाल रकम बुझाई सरसामान लैजान १५ दिनको समय दिएको छ। तोकिएको समयभित्र सामान नलगेमा काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम गरिने चेतावनी समेत दिइएको छ।