विवाह गरेको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । खोटाङमा विवाह भएको चार महिनामै श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३३ वर्षीय राजकुमार राईलाई आफ्नी २८ वर्षीया श्रीमती शान्ति चर्मकारको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ९ गते बिहान राईले श्रीमती लडेर मृत्यु भएको भन्दै आफन्तलाई जानकारी गराएका थिए। घटनास्थल पुगेपछि स्थानीयले घरभित्र खाटमाथि शंकास्पद अवस्थामा शव फेला पारेका थिए।

वडा सदस्य मुगाधन राईका अनुसार मृतकको शरीरभर निलडाम देखिएको थियो भने शव कुहिन थालिसकेको र अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटकका स्पष्ट संकेत देखिएका थिए। दम्पती मात्रै बस्दै आएको घर भएकाले घटना केही दिनअघि नै भएको हुन सक्ने स्थानीयको अनुमान छ।

प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार कुटपिट गरी हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो। उनलाई जेठ ११ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी मृतकको अन्त्येष्टि परिवारले गरिसकेको पनि प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार शान्ति चर्मकारले करिब चार महिनाअघि मात्र राजकुमार राईसँग दोस्रो विवाह गरेकी थिइन्। उनका पहिलो श्रीमानतर्फ दुई र पाँच वर्षका दुई छोरा रहेका छन्। उनी छोराछोरीसहित माइतीघरमा बस्दै आएकी थिइन्।

वडा सदस्यका अनुसार राजकुमार राई पटक–पटक झगडामा मुछिने गरेको र विभिन्न युवतीलाई श्रीमती भन्दै घरमा ल्याउने तथा कुटपिट गर्ने गरेको आरोपसमेत रहेको स्थानीयले बताएका छन्। केही समयअघि पनि एक युवतीमाथि कुटपिट गरेपछि उनलाई छिमेकीले उद्धार गरी माइती पक्षको जिम्मा लगाएको बताइएको छ।