गोकर्णेश्वरका ३ वडामा घातक बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई आग्रह गरेको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीका अनुसार रोग पुष्टि भएका क्षेत्रभित्र रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, तिनका अन्डा तथा दाना पूर्ण रूपमा नष्ट गर्ने काम भइरहेको छ।

स्थानीय प्रशासनका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा जैविक सुरक्षा (बायो-सेक्युरिटी) उपायहरू कडाइका साथ लागू गरिएको छ। पन्छी पालन गर्ने कृषकलाई अनावश्यक आवतजावत रोक्न, बिरामी वा मृत पन्छी तत्काल सम्बन्धित निकायलाई जानकारी दिन र फार्म क्षेत्रमा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

बर्डफ्लु मुख्यतः पन्छीमा देखिने भाइरल रोग भए पनि केही अवस्थाहरूमा मानिसमा पनि संक्रमण हुन सक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। नगरपालिकाले मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र उपभोग गर्न र संक्रमित क्षेत्रका पन्छी वा तिनका उत्पादनसँग प्रत्यक्ष सम्पर्क गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

यस घटनापछि प्रभावित वडामा निगरानी बढाइएको छ भने थप फैलावट रोक्न सम्बन्धित निकायहरूले परीक्षण, निसंक्रमण तथा नियन्त्रण कार्यलाई निरन्तरता दिएका छन्।