काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत्यु भएको घटना छानबिनका लागि गठित समितिले १० जना प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।
प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको नेतृत्वमा गठित छानबिन समितिले प्रहरी उपरीक्षक(एसपी)देखि प्रहरी जवानसम्मका कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कारबाहीको प्रस्ताव गरेको हो।
समितिको सिफारिसअनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने तथा पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्न भनिएको छ। साथै, एक जनालाई नसिहत तथा अर्का एक जनाको ग्रेड घटुवा गर्न सुझाव दिइएको छ।
समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न तथा हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार र प्रहरी प्रशासनलाई सुझाव दिएको छ।
त्यसैगरी, अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव निम्तिन सक्ने घटनामा आवश्यक तथ्य संकलन, सम्बन्धित पक्ष र परिवारसँग समन्वय तथा अनुसन्धानसम्बन्धी निर्णयमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय भूमिका आवश्यक रहेको समितिको निष्कर्ष छ।
समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्ता संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ।