वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध लिखत कसुरमा पक्राउ पुर्जी जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले अनुसूची–२२ अनुसार पक्राउ अनुमति दिएको जनाएको छ।

अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये लिखत सम्बन्धी कसुर अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको हो।

वीरगञ्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले अनुसन्धानका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत पर्साले जनाएको छ।

जाहेरीमा मेयर सिंहले नक्कली कागजात प्रयोग गरी अर्काको छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नागरिकता जारी गराएको आरोप उल्लेख गरिएको छ। सोही आरोपलाई आधार बनाएर अदालतले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

लिखत सम्बन्धी कसुर भन्नाले कागजातलाई झुटो बनाउने, परिवर्तन गर्ने, गलत उद्देश्यका लागि प्रयोग गर्ने वा अरूलाई भ्रममा पार्ने उद्देश्यले कागजातमा छेडछाड गर्ने कार्यलाई जनाइन्छ। यस्तो प्रकारको कसुर मुलुकी अपराध संहिताअन्तर्गत कानुनी रूपमा व्यवस्थित गरिएको हुन्छ।