काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्म संकलन अनुमति प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य आजबाट सुरु गरिएको हो। जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रका संकलनकर्ताका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको छ।
गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगोल्डुङ, हाङ्दाङखोला र माजिङथानलगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटन क्षेत्र हुन्। यी क्षेत्रलाई यार्सागुम्बा संकलनका लागि अत्यन्त उपयुक्त मानिन्छ।
हरेक वर्ष मुगुसँगै हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेतलगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता यार्सागुम्बा टिप्न यहाँ पुग्ने गरेका छन्। संकलन मौसम सुरु भएसँगै हिमाली बस्ती र पाटन क्षेत्रमा चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन्।
गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ, जसबाट हरेक वर्ष उल्लेख्य राजस्व संकलन हुने गरेको बताइएको छ। साथै, यार्सागुम्बा संकलन स्थानीयवासीका लागि मौसमी आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ र यसले हिमाली क्षेत्रको स्थानीय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।